शेयर कारोबारमा गरिने गैरकानूनी क्रियाकलाप

शेयरबजार स्वाभाविक र अस्वाभाविक मूल्य वृद्धि र कमी हुन सक्छ । बोनस शेयर, लाभांश, हकप्रद शेयर जारी गर्ने, व्यवसायसँग सम्बद्ध ठूलो योजना, व्यवस्थापन परिवर्तन, नाफा नोक्सानको हिसाबका वित्तीय परिणामहरू, अन्य पक्षहरूसँग व्यावसायिक सम्झौताहरू, मर्जर तथा एक्युजेशन आदि सूचना अधारमा शेयरबजारमा मूल्य वृद्धि र कमी हुन सक्छ । उक्त कुरा चलखेल, अफवाह फैलाई शेयर मूल्य घटाउने वढाउने भएमा अस्वाभाविक मान्न सकिन्छ । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम उल्लेख गरी अस्वाभाविक चलखेल भएकोे ठहर गर्दै सार्वजनीक सूचना गर्‍यो । धितोपत्र बोर्डलाई शेयरबजारमा चलखेल गर्ने सामाजिक सञ्जालमा अफवाह फैलाउने, स्वघोषित विश्लेषकहरूले आकर्षक लाभांशको प्रचार गरी शेयर मूल्यमा अस्वाभाविक चलखेल गर्ने उपर दण्डसजाय गर्ने अधिकार कानूनीले दिएको छ । शेयरबजारमा केही टाठाबाठा समूहले सस्तोमा शेयर खरीद गर्ने र पछि सामाजिक सञ्जालमा अफवाह फैलाएर मूल्य बढाई अन्य लगानीकर्तालाई फसाउने दण्डनीय अपराध भइरहेका आधारमा लगानीकर्तालाई केही कम्पनीहरूका नाम तोकी सचेत गराउनु बोर्डको कानूनी दायित्व हो । अफवाह फैलाउनेहरूले बोर्डप्रति आपत्ति जनाएको भन्ने समाचार पनि आएको छ । ऐनको दफा ९५ अन्तर्गत मूल्यमा उतारचढाव गर्न नहुने व्यवस्था गरेको छ जसमा कसैले हुँदै नभएको वा कृत्रिम वा झूटो कारोबार गरी/गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतार चढाव गराएको मानी दण्ड सजायको व्यवस्था गरेको छ । शेयरबजारमा चलखेल, अफवाह फैलाई शेयर मूल्य घटाउने वढाउने उपर नेपालमा खास कार्वाही भएको नदेखिए तापनि भारतीय शेयरबजारमा राकेश झुनझुनवाला र उनकी श्रीमती रेखा झुनझुनवालासहित १० जनालाई त्यहाँको सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड (सेवी) ले धितोपत्र कारोबारसम्बन्धी अपराध गरेका आधारमा ३७ करोड भारू जरीवाना तिराएको भन्ने समाचार आएको छ । त्यस्तै अर्को हर्षद मेहताले शेयरबजारमा मेनुपुलेट गरी भारत सरकारले जारी गरेको सेक्युरिटिज विभिन्न बैंकमा धेरैओटा नक्कली रसिद धितो राखी ३०० देखि ४०० करोड कर्जा लिँदै शेयरबजारमा लगानी गरे । कम मूल्यमा खरीद गरेका धेरै कम्पनीका शेयर विभिन्न मिडिया समूहमा रकम खर्च गरी त्यसमार्फत झूटा अफवाह फैलाई शेयर मूल्य बढाउन शुरू गर्‍यो । एशोसिएटेड सिमेन्ट कम्पनी लिमिटेडको शेयर रू. २०० खरीद गरी भिन्न अफवाह फैलाई शेयर मूल्य ९ हजार पुर्‍यो । यसरी धैरै नोक्सानीमा गएका कम्पनी शेयर खरीद गरी शेयर मूल्य बढायो । शेयर मूल्यमा वृद्धि भएका कारण धैरै व्यक्तिहरू शेयरबजारमा लगानी गरी मुनाफा खान झुम्मिए र शेयरबजार बियरबाट बुलको पिकमा पुग्यो । पछि एक पत्रकारले हर्षद मेहताले बैंकलाई ठगी गरी झूटा अफवाह फैलाई शेयर मूल्य बढाएको पर्दाफास गरिदिए । त्यसपछि शेयरबजार आरालो लागि धेरै लगानीकर्ता र बैंकसमेत डुबे । सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड (सेवी)ले उसलाई पक्राउ गरी मुद्दा चलायो । नेपालमा हालका दिनहरूमा शेयरबजारमा (धितोपत्र विनियम बजारमा) सूचीकृत कम्पनी वा संस्थामा केही व्यक्ति वा समूह मिली आफू र आफ्नो समूहलाई फाइदा लिने उद्देश्यले धितोपत्र कारोबार वा धितोपत्रको मूल्यमा अनुचित प्रभाव पार्ने काम गर्न गराउन गलत वा भ्रामक सूचना प्रसारप्रचार गरेको पाइन्छ । विगतमा नेशनल फाइनान्स, गोरखकाली रबर उद्योग, बुटवल धागो, नेकोन एयर, शेयर मार्केट एन्ड फाइनान्स लगाएत धेरै कम्पनीमा अफवाह फैलाई मूल्य बढाइ सर्वसाधारण लगानीकर्ता डुबाएको छ । शेयरबजारमा अफवाह फैलाई बजार मूल्यलाई तलमाथि गर्नेलगायत धितोपत्रसँग सम्बद्ध अपराध गर्ने उपर धितोपत्रसम्बन्धी ऐन, २०६३ ले दण्ड सजायको व्यवस्था गरेको छ । धितोपत्रसम्बन्धी अपराध गर्नेलाई उक्त ऐनको दफा १०१ (१), (२),(३),(४),(५),(६),(७) बमोजिम देहायका सजाय हुन सक्छ । १) भित्री कारोबार गरेको ठहरेमा बिगो बमोजिम जरीवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । देहायबमोजिम धितोपत्रसम्बन्धी कारोबार गरेमा ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरीवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो काम कारबाहीबाट कसैलाई हानिनोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानिनोक्सानीसमेत भराई दिनुपर्ने व्यवस्था छ । क) कृत्रिम वा झूटो कारोबारमा हुने सजाय : ऐनको दफा ९४ अन्तर्गत शेयरबजारमा कसैले कृत्रिम वा झूटो कारोबार गर्न नहुने कानूनी व्यवस्था गरेको छ । ख) मूल्यमा उतारचढाव गरेमा : ऐनको दफा ९५ अन्तर्गत मूल्यमा उतारचढाव गर्न नहुने व्यवस्था गरेको छ जसमा कसैले हुँदै नभएको वा कृत्रिम वा झूटो कारोबार गरी गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतारचढाव गराएको मानी दण्डसजायको व्यवस्था गरेको छ । ग) धितोपत्र बजारलाई प्रभावित पार्न नहुने : ऐनको दफा ९६ बमोजिम कसैले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरूसँग मिली कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरीद वा विक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने, मूल्य घटाउने, स्थिर बनाउने कार्य गरेमा सजायको व्यवस्था गरेको छ । २) देहायका धितोपत्रसम्बन्धी अपराध गरेमा १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरीवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुने र त्यस्तो कारोबारबाट कसैलाई हानिनोक्सानी भएको रहेछ भने त्यस्तो हानिनोक्सानीसमेत भराई दिनुपर्ने व्यवस्था छ । क) झूटा वा भ्रामक विवरण, प्रतिज्ञा वा पूर्वअनुमान बनाउन वा प्रकाशित गरेमा : ऐनका दफा ९७ बमोजिम झूटो, भ्रामक वा गलत हो भनी जानीजानी कुनै विवरण वा पूर्वअनुमानसम्बन्धी विवरण बनाउने वा प्रकाशित गर्ने काम गर्नेबाट नोक्सानी भराउने व्यवस्था छ । ख) जालसाजीयुक्त कारोबार गरेमा : ऐनका दफा ९८ बमोजिम जालसाजीयुक्त कारोबारसम्बन्धी व्यवस्था गरेको छ । कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा वा कसैलाई झुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमा यस्तो कारबाही हुन्छ ।  ग) झुक्यानमा पारी धितोपत्र कारोबार गरेमा : ऐनकोे दफा ९९ बमोजिम कुनै विवरण झूटो वा भ्रामक हो भन्ने थाहा हुँदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक भएको छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरीद वा विक्री गर्न उत्साहित गरेमा वा धितोपत्रको मूल्य घटाउन, बढाउन वा स्थिर राख्न लगाएमा नोक्सानी तिराउने व्यवस्था छ । घ) लिखत, विवरण वा अभिलेख नष्ट गर्न, झूटो बनाउन, लुकाउने कार्य गरेमा : ऐनको दफा १००.मा उल्लिखित ऐनको दफा ८५ बमोजिम निरीक्षण तथा जाँचबुझको सिलसिलामा बोर्ड वा बोर्डद्वारा अधिकारप्राप्त अधिकारीले मागेको कुनै लिखत, विवरण वा अभिलेख वा दफा १०३ बमोजिम तहकिकात गर्न तोकिएको अधिकारीले तहकिकातको सिलसिलामा मागेको कुनै लिखत, विवरण वा अभिलेख वा यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम तथा विनियमबमोजिम आफूले राख्नुपर्ने लिखत, विवरण वा अभिलेख नष्ट गर्न, झूटो बनाउन, लुकाउन वा त्यस्तो कार्य गर्नमा मद्दत गर्नेलाई नोक्सानी तिराउने व्यवस्था छ । नेपालमा शेयरबजार लाभांश राम्रो दिने वा नदिने वा आर्थिक विवरणका आधारमा उतारचढाव हुनुभन्दा पनि नाटकीय ढंगबाट हुने गरेको छ । शेयरबजारका खेलाडीको नक्कली हल्लाले घटबढमा मुख्य भूमिका हुने गरेको छ । यस्ता खेलाडीउपर खासै दण्डसजाय भएको पाइँदैन । लेखक अधिवक्ता हुन् ।

सम्बन्धित सामग्री

राष्ट्र बैंकले भन्यो क्रिप्टोकरेन्सी र नेटवर्किङमा लाग्दै नलाग्नु

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपालमा गैरकानूनी रहेकाले क्रिप्टोकरेन्सी र नेटवर्किङसम्बन्धी कारोबारमा सचेत रहन सबैलाई आग्रह गरेको छ । पछिल्ला दिनहरुमा नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको पाइएपछि केन्द्रीय बैंकले आज एक सार्वजनिक सन्देशमार्फत त्यस्ता कारोबार र गतिविधि देशको अर्थतन्त्रका लागि मात्र नभई लगानी गर्नेका लागि पनि जोखिम रहेको जनाएको छ । यसको प्रकृति […]

क्रिप्टोकरेन्सी र नेटवर्किङमा लाग्दै नलाग्नु

नेपाल राष्ट्र बैंकले नेपालमा गैरकानूनी रहेकाले क्रिप्टोकरेन्सी र नेटवर्किङसम्बन्धी कारोबारमा सचेत रहन सबैलाई आग्रह गरेको छ । पछिल्ला दिनहरुमा नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको पाइएपछि केन्द्रीय बैंकले आज एक सार्वजनिक सन्देशमार्फत त्यस्ता कारोबार र गतिविधि देशको अर्थतन्त्रका लागि मात्र नभई लगानी गर्नेका लागि पनि जोखिम रहेको जनाएको छ । यसको प्रकृति नै गैर …

क्रिप्टोकरेन्सीको कारोबारले निम्त्याएको बहस

गत साता विदेशी विनिमय अपचलनमार्फत करोडौं रुपैयाँको डलर कारोबारमा संलग्न देखिएको भन्दै एक नेपाली पक्राउ परे । नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भई गैरकानूनी मुद्रा आर्जन गरेको अभियोगमा पक्राउ परेका उनलाई बिगो र कैद सजाय …

सीमापार सूचीकृत कम्पनीहरुमाथि निगरानी बढाउँदै चीन

असार २२, पेचिङ (चीन) । चीनले सीमापारका शेयर बजारमा सूचीकृत भएका कम्पनीहरुमाथिको निगारानी बढाउने भएको छ । मंगलवार त्यहाँको मन्त्री परिषद्ले यस्तो बताएको हो ।  चीनले घरेलु अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी तिती ग्लोबल इंकमाथि साइबर सुरक्षासम्बन्धी अनुसन्धान शुरु गरेको केही दिनपछि मन्त्रीपरिषद्ले यस्तो घोषणा गरेको हो ।  अमेरिकी शेयर बजारमा सूचीकृत भएका कम्पनीहरुमाथि कडाई गर्न यो कदम चालिएको विश्लेषण गरिएको छ ।  नयाँ उपायहरु अन्तर्गत चीनले सीमापार डेटा प्रवाह र सुरक्षासम्बन्धी नियमन सुधार्नेछ, शेयर बजारमा हुने गैरकानूनी गतिविधिहरुमा कडाई गर्नेछ र जालसाझ गरेर गरिने शेयर जारी, बजारमा चलखेल र इन्साइडर ट्रेडिङ जस्ता गतिविधि गर्नेहरुलाई दण्डित गर्नेछ ।  शेयरसम्बन्धी लगानीका लागि आउने रकमको स्रोतमा पनि चीनले छानबिन गर्नेछ र लिभरेज रेशियो पनि नियन्त्रण गर्ने बताइएको छ ।  चीनको साइबर प्रशासन (सीएसी)ले घरेलु एप स्टोरहरुलाई तितीको एपलाई हटाउन आदेश दिएपछिको पहिलो दिनको कारोबारमा मंगलवार अमेरिकामा नियमित समय पूर्वको कारोबारमा तितीको शेयरमूल्य २५ प्रतिशतसम्म घटेको थियो । एजेन्सी

क्रिप्टोकरेन्सीलाई टेवा बन्द गर्न बैंकहरुलाई चीनको आदेश

असार ८, पेचिङ (चीन) । चीनले क्रिप्टोकरेन्सीमाथि कडाई बढाएको छ । बैंक तथा भुक्तानी मञ्चहरुलाई डिजिटल करेन्सीको कारोबारलाई टेवा बन्द गर्न आदेश दिएको छ ।  शुक्रवार भने शिचुआन प्रान्तमा बिट्क्वाइन माइनिङ सञ्चालन बन्द गरिएको थियो । यो खबरपछि वार बिट्क्वाइनको भाउ १० प्रतिशतभन्दा धेरैले घटेको थियो । तर मंगलवार एशियाली कारोबारमा भाउ स्थिर रहेको बीबीसीले समाचारमा भनेको छ ।  अप्रिलमा प्रतिगोटा ६३ हजार डलरमाथि पुगेको बिट्क्वाइनको भाउ अहिले ५० प्रतिशत तल छ । सोमवार चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले आफूले हालै कयौं प्रमुख बैंक र भुक्तानी कम्पनीहरुलाई बोलाएर क्रिप्टोकरेन्सीको कारोबारविरुद्ध कठोर कदम चाल्न भनेको थियो ।  बैंकहरुलाई कारोबार, क्लियरिङ र राफसाफ लगायत सेवाका लागि क्रिप्टोकरेन्सी प्रयोग नगर्न आदेश दिइएको पीबीओसीले एक विज्ञप्तिमा भनेको थियो ।  आफूले पीबीओसीको निर्देशिका मान्ने र क्रिप्टोकरेन्सी माइनिङ र कारोबारमा संलग्न गैरकानूनी गतिविधि हुन नदिन सावधानी अपनाउने सम्पत्तिका आधारमा चीनको तेस्रो ठूलो बैंक एग्रिकल्चरल बैंक अफ चाइनाले भनेको थियो ।  चीनको पोष्टल सेभिङ बैंकले पनि क्रिप्टोकरेन्सीमा कुनै पनि कारोबारलाई सहजीकरण नगर्ने बताएको थियो ।  मोबाइल तथा अनलाइन भुक्तानी मञ्च अलिपेले पनि गैरकानूनी रुपमा हुने क्रिप्टोकरेन्सी कारोबार पत्ता लगाउन निगरानी प्रणाली स्थापना गर्ने बताएको छ ।  गत वर्ष विश्वको कुल बिट्क्वाइन उत्पादनमा चीनको अनुपात ६५ प्रतिशत रहेको थियो । गत महीना चीनको मन्त्री परिषद्ले वित्तीय जोखिम न्यूनीकरण गर्न क्रिप्टोकरेन्सी माइनिङ र कारोबारमा रोक लगाउने बताएको थियो । एजेन्सी