आधुनिक भवन निर्माणका मापदण्ड

काठमाडौं । आधुनिक भवन निर्माणमा आर्किटेक्चर विधाका मुख्य तीन विषय महत्वपूर्ण मानिन्छन् । यिनै मुख्य कुराको आधारमा भवन निर्माणको नक्सांकन गरिन्छ । यसो गरिए भवनलाई आरामदायी, बलियो र सुन्दर बनाउन सहयोग गर्छ । यी विषयबारे ज्ञान हुँदा भविष्यमा निर्माण गरिने भवनबाट जीवनभर ढुक्क हुन सकिन्छ । प्रयोग गर्न सजिलो भवन प्रयोगको हिसाबले सजिलो हुनुपर्दछ । एक पटक भवन निर्माण गरेपछि पटक–पटक बनाउन र परिवर्तन गर्न सकिँदैन । अन्य प्रयोगका वस्तु बदल्न सकिन्छ तर भवन हत्तपत्त बदल्न सकिँदैन । त्यसैले भवन प्रयोगको हिसाबले सजिलो र आरामदायी हुनुपर्दछ । आयु लामो बनाउने क्रममा भवनलाई प्रयोग गर्न कठिन हुने गरी बनाइनुहँुदैन । भवन सबै सदस्यका लागि एकदमै सजिलो र आनन्दायक हुनुपर्दछ । बस्न, खान, सुत्न, भेटघाट गर्न सबै हिसाबले एकदमै मिलेको सेवादायक हुनु आवश्यक छ । एउटा सुविधायुक्त भवनमा खबर तथा सूचना प्राप्त गर्न टिभी च्यानल प्रयोग गर्न सकिने व्यवस्था हुनु आवश्यक छ । भान्सा कोठा खाना खाने कोठासँगै जोडिएको हुनुपर्छ । डाइनिङसँगै बैठक कोठा जोडिएको अति उत्तम मानिन्छ । पाहुना तथा घरका सदस्य भान्सामा जान सजिलो हुनुपर्दछ । झ्यालमा प्रकाश पुग्ने गरी राखिनुपर्दछ । आकाशबाट सीधै सूर्यको प्रकाश पस्ने गरी छानाको व्यवस्था हुनु आवश्यक छ । लुगा–कपडा राख्न आवश्यक व्यवस्था हुनु जरुरी छ । गाडी राख्ने ग्यारेजको उचित व्यवस्था र बाहिर बगैंचा एवं रुखले आकर्षण थप्छ । यी सबै आधुनिक भवनका आवश्यकता हुन् । बलियो र टिकाउपना भवन राम्रो मात्र भएर हुँदैन । बलियो र टिकाउ हुनु आधुनिक भवनको प्रमुख विशेषता हो । वास्तुशास्त्रमा भवनको आयु हजार वर्ष रहेको उल्लेख गरिएको छ । भवन पुस्तौंका लागि परिकल्पना गरेर निर्माण गरिन्छ । तर, त्यसका लागि आवश्यक निर्माण सामग्री गुणस्तर भएर मात्र पुग्दैन, तालिम प्राप्त र अनुभवी मिस्त्री हुनु त्यत्तिकै आवश्यक हुन्छ । यति मात्र होइन, कतिपय निर्माण कार्यमा समेत उत्तिकै ध्यान दिन आवश्यक पर्छ । जस्तो, काठपातमा पानी प¥यो भने छिटो कुहिन्छ । डन्डीलाई चिसोबाट बचाउनुपर्छ । डन्डीमा चिसो पस्यो भने खिया लाग्छ र छिट्टै बिग्रने हुन्छ । पानी म्वाइस्चर, रुखका जरा र जगमा पानीका स्रोत हुनु भवनका आयु प्रतिकूल हुन् । यसबाट बच्नु नै भवनको सुरक्षा गर्नु हो र आयु लम्ब्याउनु हो । सुन्दरता भवनको सुन्दरता पनि महत्वपूर्ण पक्ष हो । त्यही मानिस सजिसजाउ भयो भने राम्रो देखिन्छ । लुगा सफासुग्घर भयो भने असुन्दर पनि राम्रो देखिन्छ । त्यस्तै, भवन पनि रङरोगन र बाहिरी सजावटले निकै आकर्षक देखिन्छ । फूल बगैंचाको पनि भवनमा महत्वपूर्ण भूमिका रहन्छ । फूल बगैंचा भवनका गहना हुन् । सफासुग्घर तरिकाले सजाइएको भवनको आभा मण्डल आकर्षक देखिन्छ । वरिपरि फोहोर गरेको, जथाभावी लुगा सुकाएको, झगडा भइरहेको र सामान यत्रतत्र फालिएको भवन सुन्दर देखिन्न । भवनलाई आकर्षक र सुन्दर देखाउने कार्यमा बाहिरी र भित्री सजावटको प्रमुख भूमिका रहेको हुन्छ । कुनै पनि वस्तु भएर मात्र राम्रो हुँदैन । त्यसलाई आकर्षक ढंगले मिलाउनाले सुन्दरता थप्छ । यो कार्य आर्किटेक्चर र सजावटसम्बन्धी ज्ञान भएका अनुभवी एवं दक्ष कामदारको सहयोगले मात्र सम्भव हुन्छ । वास्तु विधान पुस्तकका लेखक डा. प्रेमराज न्यौपानेले आधुनिक भवनका प्रमुख विशेषताको रूपमा प्रयोगमा सजिलो, बलियोपना र सुन्दरतालाई आकर्षक ढंगले व्याख्या विश्लेषण गरेका छन् । उनको निचोडअनुसार आधुनिक भवन हुन यी तीन प्रमुख विशेषता अति आवश्यक रहेकामा जोड दिएका छन् । इञ्जिनियर तिलक बानिया पनि आधुनिक भवन बलियो र आकर्षक हुनुपर्ने कुरासँग सहमत छन् । त्यसैले निष्कर्षमा के भन्न सकिन्छ भने भवन निर्माण गर्दा खर्च कम गर्ने लालसामा कमजोर, असुविधायुक्त र असुन्दर बनाउनु दुःखकष्ट गरी जीवन गुजारा गरेजस्तै हो ।

सम्बन्धित सामग्री

बलियो घरका लागि गुणस्तरीय डन्डी कसरी छनौट गर्ने ? यी कुरामा ध्यान दिनुस

काठमाडौं । आधुनिक पक्की भवन निर्माणमा मानव शरीरको मेरुदण्ड जत्तिकै स्थान हुन्छ, डन्डी (छड) को प्रयोग । यसलाई भवन निर्माण सामग्रीमध्ये प्रमुख अंगको रूपमा लिइन्छ । भूकम्प प्रतिरोधी र बलियो संरचनायुक्त भवनका लागि एउटा स्तम्भ  हो, डन्डी ।  डन्डीका आकार, प्रकार र यसको प्रयोग बजारमा उत्पादित डन्डीमा टिएमटी र टिएमएक्स प्रमुख प्रचलनमा रहेका छन् । टिमटीअघि टोर स्टिल र प्लेन डन्डीको प्रचलन थियो । हाल यसको सट्टामा टिएमटी डन्डीले स्थान लिएको छ । टोर स्टिलभन्दा बढी लचक र उच्च गुणयुक्त भएको कारण विस्तारै यसको बजार टिएमटीले लिन सफल भयो । टिएमटी (थर्मो मेकानिकलली ट्रिटेड) धातु प्रक्रियामार्फत बनेको हुन्छ । यसलाई इन्जिनियरिङको भाषामा टिएमटी बार, रेन्फोर्स बार वा रिबार भन्ने गरिन्छ । यसको उच्च भारवहन क्षमता, लचकता, बलियो, खिया प्रतिरोधी विशेषतायुक्त भएकाले भवन निर्माणका लागि उपयुक्त हुन गएको हो । निर्माण क्षेत्रमा टिएमटी रडको प्रयोगले पकड जमाउन सफल भएको छ ।  डन्डी विभिन्न आकारमा उत्पादन हुने गरेका छन् । त्यसमध्ये केही प्रमुख आकार ८ मिमि, १० मिमि, १२ मिमि, १६ मिमि, २० मिमि, २५ मिमि, २८ मिमि, ३२ मिमि, ३६ मिमि, ४० मिमिसम्म रहेको पाइन्छ । कतिपय कम्पनीले ४.७५ मिमि र ७ मिमि आकारका डन्डी उत्पादन गरिरहेको पाइन्छ । भवन निर्माणमा विभिन्न आकारका डन्डी प्रयोग हुन्छन् । स्ल्याब, बिम, फाउन्डेसन आदिमा तलाअनुसार फरक–फरक आकारका डन्डी प्रयोग गरिन्छ ।  साधारणतया ८ मिमिदेखि १२ मिमिसम्मको डन्डी प्रयोग हुन्छ । स्थान विशेषअनुसार ५ मिमिको डन्डी पनि प्रयोगमा आएको हुन्छ ।  छडको मूल्यमो एकरूपता पाइँदैन । नाम चलेका कम्पनीका केही बढी मूल्य रहेको पाइन्छ भने अन्य कम्पनीका कम मूल्य । ढुवानी भाडा र अभावका बीच मूल्यमा केही घटबढ भने भइरहन्छ । अहिले चलनचल्तीमा पञ्चकन्याबाट उत्पादित डन्डीको मूल्य १३५ प्रतिकिलो रहेको छ भने अन्यको १२८ प्रतिकिलो रहेको छ ।  कसरी छनोट गर्ने गुणस्तरीय डन्डी ? बजारमा धेरै कम्पनीबाट उत्पादित फरक–फरक डन्डीका बीच कम मूल्यमा स्तरीय डन्डी छनोट गर्नु अवश्य पनि कठिन कार्य हो । त्यसमाथि विज्ञापनका आकर्षक र मोहित पार्ने खाले शब्दजालबाट प्रभावित नहुने कुरै भएन । धेरै थरी कम्पनीका फरक–फरक मूल्य पनि डन्डी छनोटको अर्को समस्या हो । सस्तोमा किन्नु कम गुणस्तरीय पर्ला भन्ने पीर, महँगोमा किन्नु, त्यो पनि गुणस्तरीय नै छ भन्ने के ग्यारेन्टी ? छनोटको यो दोधारबाट बच्ने केही उपायमध्ये पहिलो आधार हो, गुणस्तर ।  कुनै कम्पनीको नाम लिएर यही ठीक हो भन्नु सरासर पक्षपातपूर्ण हुन्छ । त्यसैले कुनै कम्पनीको पक्ष नलिईकन भन्नुपर्दा गुणस्तर नै पहिलो सर्त हो । तोकिएको मापदण्ड पूरा नगरी उत्पादन गर्न पाइँदैन । गुणस्तरीय छ/छैन छुट्याउन टेन्साइल टेस्ट गरिएको हुन्छ र त्यसको आधारमा नेपाल गुणस्तर विभागबाट गुणस्तर चिह्न प्रदान गरिएको हुन्छ । गुणस्तर चिह्न लेबल प्रयोग भएको कुनै पनि कम्पनीको उत्पादन प्रयोग गर्नु उपयुक्त मानिन्छ ।  गुणस्तरीय डन्डी छनोटका विषयमा केही विरोधाभासपूर्ण विषय उठ्ने गरेको पाइन्छ । राजेश हार्डवेयरका प्रोप्राइटर गुणस्तरको विषयमा कुनै जानकारी नहुने बताउँछन् । त्यहाँबाट बिक्री गरिने जगदम्बा कम्पनीको डन्डीमा गुणस्तर चिह्नको ट्याग लगाएको हुन्छ । सोही ट्याग नै गुणस्तरयुक्त छ भन्ने विश्वास गर्नुपर्ने आधार हो । त्यसैगरी धनवन्तरी बाराही ट्रेडिङका प्रोप्राइटरका अनुसार उत्पादक कम्पनी नै विश्वासको आधार हो । निर्माण क्षेत्रका विज्ञ भनेका इन्जिनियर हुन् । इन्जिनियर तिलक बानियाँका अनुसार समय–समयमा डन्डीको टेन्साइल टेस्ट गरिन्छ । यसमा डन्डीमा रहेको तन्कने शक्ति, जसलाई डन्डीको भारवहन क्षमताको मापन भनिन्छ । यही तन्कने शक्ति र त्यसमा रहेको कार्बन (किट) को मात्रालाई जाँच गरिन्छ । यसैको आधारमा डन्डी गुणस्तर हो/होइन थाहा हुन्छ ।   डन्डीको गुणस्तर मापन गर्ने विश्वासिलो आधार भनेको यसको ग्रेडिङ हो । एफई ४१५, एफई ५००, एफई ५५० र एफई ६०० यसका प्रमुख ग्रेड हुन्, जसले डन्डीको बलियो शक्तिलाई मापन गर्दछ । नेपाली कम्पनीका डन्डीमा ५०० गुणा डीको ट्याग लगाइएको हुन्छ । त्यो नै त्यो  डन्डीको शक्ति वा गुणस्तर मापन प्रक्रिया हो । नेपाली उत्पादनमा ५०० र ५५० का गुणस्तर मात्र प्रयोग भएको पाइन्छ ।

यसरी गरौं गुणस्तरीय इँटाको छनोट

काठमाडौं । भवन निर्माणमा इँटा प्रयोग शरीरको अस्थिपञ्जरजत्तिकै महŒवपूर्ण हुन्छ । गाउँघरमा ढुंगामाटोको घरमा ढुंगालाई नै प्रमुख आधार मानिन्छ । ढुंगामाटोको कच्ची भवनको सट्टा आधुनिक आरसिसी (पक्की) भवन निर्माणमा इँटा र इँटाजस्तै अन्य ब्लक प्रयोग गरिन्छ । इँटाले भवनको बाहिरी स्ट्रक्चर वा स्वरूप निर्धारण गर्ने काम गर्छ । भवनको पूर्ण आकृति यसमै निर्भर रहेको हुन्छ । घर निर्माणका लागि इँटाको छनोट सबैभन्दा बढी ध्यान दिनुपर्ने पक्ष हो । यसका लागि राम्रो, बलियो र गुणस्तरयुक्त इँटा हुनु आवश्यक छ । इँटाको सही छनोटका केही आधार रहेका छन् । राम्रो इँटा हुनुका केही गुण पहिचान गर्न आवश्यक छ । सोहीअनुसार रातो रंग भएको, बांगोटिंगो नभएको, चार कुना आकार मिलेको, अत्यधिक पाकेर कालो नभएको, दुई इँटाको जुधाइबाट मेटालिक आवाज निस्कने आदि विशेषताबाट राम्रो र गुणस्तरयुक्त छ भन्न सकिन्छ । इँटालाई गुणस्तरको आधारमा ए, बी, सी गरी विभिन्न श्रेणीमा विभाजन गरिएको हुन्छ । ए श्रेणीको इँटालाई गुणस्तरको मान्ने गरिन्छ । गुणस्तरको इँटा हुन ५ प्रतिशतभन्दा बढी पानी नसोस्ने वा २० प्रतिशतसम्म पानी सोस्नेलाई राम्रो र त्योभन्दा बढी पानी सोस्नेलाई नराम्रोमा गनिन्छ । नेपाल राष्ट्रिय भवन संहिता २०२:२०१५ अनुसार वालको मोटाइ २३० मिमि तोकिएको छ । सिमेन्ट र बालुवाको मिश्रण १:६ को हुनुपर्ने मात्रा तोकिएको छ । त्यसैगरी दुई इँटाबीचमा सिमेन्ट, बालुवाको मोटाइ १०(१६ मिमिको उपयुक्त मानिएको छ । इञ्जिनियर तिलक बानियाँका अनुसार सिमेन्ट, बालुवाको मोटाइ मेसिन मेड इँटा (चिनियाँ)मा १ सेमि र साधारण इँटामा १/२ इन्च हुनुपर्छ । यस कुरालाई सही मान्य हो भने पुरातात्त्विक भवनमा इँटाको बीचमा मसला एकदमै कम प्रयोग गरेको देख्न सकिन्छ । यस आधारमा बानियाँको कुरा सही हुन जान्छ । घरको ग्राउन्ड फ्लोरको वालको मोटाइ १४ इन्च र दोस्रो तलाको मोटाइ ९ इन्च हुनुपर्ने स्पष्ट मापदण्ड तोकिएको छ । टुटफुट र छरपस्ट हुनबाट बचाइ सुरक्षितसाथ राख्न इँटालाई चाङ (स्ट्याक) मिलाएर राख्नुपर्छ । इँटालाई सकभर साइडको नजिकमा काम गर्न सजिलो हुने गरी राख्नु बुद्धिमानी हुन्छ । स्ट्याक मिलाउँदा ७ फिटभन्दा बढी अग्लो र खुकुलो हुनु हुँदैन । नेपालमा प्रयोगमा रहेका इँटा नेपालमा इँटा प्रयोगको लामो इतिहास पाइन्छ । विशेषगरी पुरातात्त्विक मठमन्दिर, स्तुपा, कुवा तथा भवनमा इँटा प्रयोग भएको पाइन्छ । नेपालमा गुणस्तरयुक्त माटो हुनु र आवश्यकताअनुसार विभिन्न साइज तथा कलात्मकता दिन सजिलोको कारण इँटा प्रयोगमा वृद्धि हुँदै गएको देखिन्छ । नेपालमा प्राप्त अभिलेखअनुसार विभिन्न प्रकारका इँटा प्रयोग भएको पाइन्छ । त्यस समयका केही इँटाका नाममा नगोल, कासिमो, दाची आप्पा, मा आप्पा, बा आप्पा, फा बुट्टा झल्लर, तु आप्पा, काची आप्पा, फाल्हो आप्पा, झल्लर बुट्टा, नाग आप्पा आदि प्रमुख छन् । यिनको नामअनुसार  आप्पालाई आगोमा पोलेको साधरण इँटा मानिन्छ । मा आप्पालाई तेलिया, बा आप्पालाई सजावटयुक्त (डेकोरेट), दाची आप्पालाई क्रोनिकल, काची आप्पालाई बेक्ड गरिएको, तु आप्पालाई गोलाकार कुवामा प्रयोग गरिने इँटाको रूपमा चिनिन्छ । यसलाई मठमन्दिर बनाउन बनाउन प्रयोग गरिन्छ । यसमा आकर्षक आकृति तथा बुट्टा कुँदिएको हुन्छ र चित्ताकर्षक रुपमा बनाइएको हुन्छ । यी इँटा प्रयोगले विभिन्न देवीदेवताको आकृतिले मन्दिरको रूपमा परिचित गराउँछ । यस्ता इँटाको प्रयोग विश्वसम्पदा सूचीमा परेका क्षेत्र र केही आधुनिक भवनमा समेत भइरहेको देख्न सकिन्छ । बढी प्रचलनमा रहेका इँटा नेपालमा बढी प्रयोग गरिने इँटामा पर्छ, चिम्नी वा अग्लो भट्टीमा पकाएको माटोबाट बनेको साधारण इँटा । स्थानीय रूपमा कामदार प्रयोग गरेर उत्पादित इँटा नै बढी प्रचलित छ, जुन सबैले प्रयोग गर्न सबभन्दा सस्तो मानिन्छ किनकि योभन्दा सस्तो उत्पादनै हुँदैन । भए पनि कमसल, बांगोटिंगो हुन्छ, जसलाई वालको रूपमा प्रयोग गर्न असम्भव छ । घाममा सुकाएर बनाइएको इँटा छिटो बिग्रने र पानीले चाँडै गल्ने स्वभावको हुन्छ । नेपालमा हरिसिद्धि इँटा, टायल कारखानाबाट चिनियाँ मेसिन प्रयोग गरेर उत्पादित सफा र चिटिक्क परेको इँटा प्रयोग गरेर घर निर्माण गरेका काठमाडौंबासीको स्मरणमा अझै ताजै हुनुपर्छ । यस्तै, मिल्दोजुल्दो आकारको इँटाको उत्पादन हुँदै आएको छ । यो स्थानीय परम्परागत इँटाभन्दा साइजमा केही ठूलो हुन्छ । त्यसैगरी बुट्टेदार (कारनेक्स) इँटा पनि उत्पादन हुँदै आएको छ । इँटाको प्रयोग र लागत अनुमान नेपालमा इँटाको साइज ठ्याक्कै खुट्याउन कठिन न्छ । नेपाल राष्ट्रिय भवन संहिता (एनबिसी १०९:१९९४) अनुसार इँटाको स्ट्यान्डर्ड साइज तोकिएको छ । सोहीअनुसार लम्बाइ २४० मिमि, ११५ मिमि चौडाइ र ५७ मिमि मोटाइ रहेको छ । बजारमा इँटाको साइज ९.५ गुणा ४.५ इन्च रहने भनिएको छ । इँटाको साइजको आधारमा एउटा चारकोठे घरको वाल निर्माणमा कति इँटा लाग्छ भनेर लागत अनुमान र संख्या निकाल्ने गरिन्छ । घरको नक्सामा झ्यालढोका र अन्य केही सबैको साइज तोकिएकामा त्यसको नाप कटाएर इँटाको संख्या निकाल्न सकिन्छ । झ्यालढोकाको साइज कति भन्ने जानकारी नभई इँटाको ठ्याक्कै यकिन संख्या निकाल्न नसकिने इञ्जिनियर बानियाँ बताउँछन् । जयश्री नवदुर्गा निर्माण सामग्री सप्लायर्स प्रोप्राइटरका अनुसार ठिक्क साइजको चार कोठे घर निर्माणमा २५ गोटा हजार इँटा लाग्ने गर्छ । अनुभवी मिस्त्रीको भनाइमा पनि अनुमान केही मिल्न जाने गरेको पाइन्छ । इञ्जिनियरिङ नियमअनुसार घरको साइज र त्यसमा प्रयोग गरिने झ्यालढोकाको अन्तिम साइज पूरा गरेर इँटाको वास्तविक संख्या निकालिन्छ । फरक–फरक इँटाको मूल्य इँटाको मूल्यमा कम्पनीअनुसार केही फरक पर्ने बताउँछन्, जयश्री नवदुर्गा निर्माण सामग्री सप्लायर्सका प्रोप्राइटर । उनको भनाइअनुसार साधारण इँटा प्रतिगोटा मूल्य १७ र चिनियाँ साइजको इँटाको मूल्य २२ रुपैयाँ पर्छ । बजार मूल्यअनुसार प्रतिहजारको १४ हजारदेखि १६ हजारसम्म रहेको पाइन्छ ।

निषेधाज्ञाका कारण रोकियो बलेवा विमानस्थल र बसपार्क कालोपत्रको काम

जेठ १०, बागलुङ । निर्माणको अन्तिम चरणमा पुगेका बागलुङका दुई ठूला आयोजनाको काम प्रभावित बनेको छ । पूर्वाधार निर्माण सम्पन्न भई कालोपत्रको मात्रै काम रहेको बलेवा विमानस्थल र बागलुङ बसपार्कको कालोपत्र गर्ने काम रोकिएको छ । जिल्लामा अन्य निर्माण कार्य निर्वाधरूपमा भइरहे पनि दुई आयोजना निषेधाज्ञा भन्दै रोकिएका छन् । वैशाखमै कालोपत्र गर्ने भनिएको बलेवा विमानस्थलको धावनमार्ग र आधुनिक बागलुङ बसपार्कको काम अहिले रोकिएको निर्माण व्यवसायीले बताएका छन् । दुवै आयोजना अक्पार्ड प्रविधिबाट कालोपत्र गरिने भए पनि प्लान्ट नपाउँदा कालोपेत्रमा समस्या भएको निर्माण कम्पनीको दाबी छ । जिल्लामा निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिले निर्देशन दिएको छ तर निर्माण सामाग्री समयमा नपाइएको तथा अन्य आवश्यक उपकरण र सामग्री निषेधाज्ञाका कारण मुल्य वृद्धि भएकाले दुई ठूला आयोजनाको काम अन्तिम अवस्थामा आएर रोकिएका हुन् । जिल्लाको भविष्यसँग जोडिएका बलेवा विमानस्थल तथा बागलुङ बसपार्क अन्तिम चरणमा पुगेर रोकिनु दुःखद् भएको स्थानीयवासी बताउँछन् । प्लान्ट जडानमा ढिलाइ हुँदा समयमै कालोपत्रे गर्न नसकिएको विमानस्थल कालोपत्रको जिम्मा पाएको काष्ठमाण्डप निर्माण सेवाका प्रतिनिधि बासु थापाले बताए । म्याग्दी जाने सडक छेउमा अक्पार्ड प्रविधिको कालोपत्र गर्ने सामग्री उत्पादनको प्लान्ट निर्माण भइरहेकाले केही ढिलाइ भएको थापाको भनाइ छ । प्लान्ट निर्माण हुनासाथ १० दिनमै विमानस्थलको धावनमार्ग कालोपत्रे सकिने थापाको दाबी छ ।  यता प्लान्टकै कारण नगरपालिकाको अगुवाइमा निर्माण थालिएको बागलुङ बसपार्क सञ्चालनमा ढिलाइ भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । निषेधाज्ञा बहाना मात्रै भएको र काम गर्नेलाई समस्या नभएको नगर प्रमुख पौडेलको भनाइ छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले विमानस्थल पुनर्निर्माणको काम द्रुत गतिमा भएको जानकारी दिएको छ । यद्यपि यही जेठ मसान्तभित्र निर्माण सक्ने तयारी भए पनि निर्माण सम्पन्न हुनमा केही आशंका जन्मेको छ ।  विसं २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयवासीले बनाएको ८०० मिटर लामो यो विमानस्थलमा २०४९ सम्म नियमित जहाज चल्दै आएका थिए । विसं २०४८ मा पोखरा–बागलुङ सडक खुलेपछि विमानस्थल बन्द भएको थियो ।  बसपार्क निर्माणका लागि बागलुङ–४ उपल्लाचौरमा १८ वर्षअघि बागलुङ बजारबासीले उपल्लाचौरको दाबगरामा व्यक्तिगत जग्गा निःशुल्क नगरपालिकालाई उपलब्ध गराएका थिए । यतिका वर्षपछि बसपार्क निर्माणले अन्तिम रूप लिएको भए पनि निषेधाज्ञाले कालोपत्र गर्न नसकिएको निर्माण व्यवसायीले बताएको छ । लामो समय सरकारी उदासीनताका कारण अलपत्र परेको बसपार्क निर्माण जनप्रतिनिधि आएपछि २०७५ सालमा नगरपालिकाको पहलपछि गति लिएको थियो ।  ठेक्का स्वीकृत भएको दुई वर्षपछि बसपार्क निर्माण अन्तिम चरणमा पुगेको भए पनि कालोपत्रे हुन नसकेको हो । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयवासीले करोडौँ मूल्य पर्ने जग्गा निःशुल्क दिएका थिए ।   विसं २०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी रू. आठ करोड ७० लाखमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिँदा दुई पटक छ/छ महीना म्याद थपिएको हो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङ स्थलको कालोपत्रेको तयारी छ । बसपार्कको ८५ प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।  कोरोनाका कारण निर्माणमा केही ढिलाइ भए पनि फागुनभित्रै बसपार्क नगरपालिकालाई हस्तान्तरण गर्ने गरी बाँकी कामलाई तिव्रता दिइएको भए पनि पुनः निषेधाज्ञाले समस्या भएको बसपार्क निर्माणको जिम्मा लिएको आशिष फेवा जेभीले जानकारी दिएको छ । रासस