फागुन २, काठमाडौं । प्रदेश ५ शेयर लगानीकर्ता फोरमले आस्बा शुल्क निःशुल्क गर्न सम्बन्धित कम्पनीहरुलाई आग्रह गरेको छ । फोरमले विज्ञप्ति जारी गर्दै सार्वजनिक निष्कासनका धितोपत्र खरीदको लागि तिर्नुपर्ने आस्बा शुल्क निःशुल्क गर्न माग गरेको हो ।
प्राथमिक धितोपत्र बजारमा पछिल्लो समय सार्वजनिक निष्कासनले निरन्तरता पाईरहेको अवस्थामा २७ लाखभन्दा बढी लगानीकर्ताहरुको आवेदन परेको तथ्यांक छ । हाल ५५ कम्पनीहरुले आस्बा सेवा प्रदान गरिरहेको अवस्थामा धेरैजसो कम्पनीहरुले निःशुल्क गरेपनि कतिपय कम्पनीहरुले शुल्क लिईरहेको फोरमको ठहर छ ।
धितोपत्र बाँडफाँटको हालको व्यवस्थाका कारण कम आवेदकहरुलाई मात्र शेयर प्राप्त हुने हुँदा आस्बा शुल्क निःशुल्क गरी राहत प्रदान गर्न फोरमले अनुरोध गरेको हो ।
साथै, फोरमले कम्पनीहरुले वार्षिक साधारण सभाबाट पारित गरेको नगद लाभांश र बोनस शेयर समयमै वितरण गर्नुपर्ने माग पनि गरेको छ । हाल साधारण सभाबाट पारित भएको दिनदेखिनै नगद लाभांश वितरण हुँदै आएको सन्दर्भमा कुनै पनि कम्पनीले नगद लाभांश वितरणमा ढिलाई गर्न नहुने माग फोरमले गरेको हो ।
कम्पनीहरुले बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपछि मात्र सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुने हुँदा यस प्रकृयामा पनि ढिलाई नगर्न फोरमले अनुरोध गरेको छ ।
नगद लाभांश र बोनस शेयर वितरणमा भइरहेको ढिलासुस्तीका कारण आम लगानीकर्तामा पर्न गएको क्षतिप्रति फोरमको ध्यानकर्षण भएको बताएको छ ।