सुमन आचार्य, चितवन ।
अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सचिवालय सदस्य गोपाल गिरीको आज चितवनको देवघाटस्थित नारायणी नदी किनारमा अन्त्येष्टि गरिएको छ । आइतबार काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको गिरीको शव राजधानीबाट ल्याइएसँगै अन्त्येष्टि गरिएको हो ।
त्यस क्रममा नेता गिरीको पार्थिव शरीरमा नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकालले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । नेकपा (मसाल) का केन्द्रीय संगठनकर्ता रहनुभएका गिरी पार्टीको भरतपुर नगर समितिका सदस्यसमेत हुनुहुन्थयो ।
सोमबार काठमाडौंबाट उहाँको शव पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित उहाँको निवासमा लगिएको थियो । त्यसपछि अन्त्येष्टिका लागि देवघाटमा लगिएको थियो ।
नेता गिरीको आइतबार साँझ ह्याम्स अस्पतालमा निधन भएको हो । केही समय अघि मुटुको एन्जिओग्रापी गरिएका उहाँ निमोनिया र दमबाट पीडित हुनुहुन्थ्यो । सोही अवस्थामा कोरोना संक्रमण पनि भएको थियो ।
नेता गिरीलाई अघिल्लो मंगलबार भरतपुरबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो । चार दिनसम्म सीएमसी अस्पतालमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि हेलिकप्टर मार्फत राजधानी लगेर ह्याम्स अस्पतालमा उपचार गरिएपनि उहाँको ज्यान बच्न सकेन । उहाँले कोरोना संक्रमणलाई परास्त गरेपनि अन्य रोगले भने उहाँलाई नै परास्त गर्यो ।
नेकपा (मसाल) का इमान्दार र निष्ठावान नेता गोपाल गिरी (का. हरियाली)को निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको मसालले जनाएको छ । नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, अखिल नेपाल बुद्धिजीवी संघलगायतका संगठनहरुले वक्तव्य प्रकाशित गरी गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने मसाल महामन्त्री मोहनविक्रम सिंहले आजै ह्याम्स अस्पतालमा पुगि उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको थियो ।
यो पनि :
महामन्त्री सिंहद्वारा नेता गिरीप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली
बुद्धिजीवी संघद्वारा नेता गिरीप्रति श्रद्धाञ्जली
गोपाल गिरीको निधनप्रति राजमो अध्यक्ष केसीद्वारा दुःख व्यक्त
बुद्धिजीवी नेता गोपाल गिरी रहनुभएन
बुद्धिजीवी नेता गोपाल गिरीको ह्याम्स अस्पतालमा उपचार हुँदै