साउन २७, बागलुङ । बागलुङमा कारोना संक्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाइ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलु्ङमा मंगलवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए ।
बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा सरकारी र गैरसरकारी कार्यालयका सेवा, बैंक, सहकारी, बीमा तथा वित्तीय संस्था, शैक्षिक संस्था र अतिआवश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गरिने भएको छ ।
बैठकले अत्यावश्यक खाद्यान्न, फलफूल, माछामासु तथा दूधका पसल आइतवार, बुधवार र शुक्रवार मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्न दिइने भएको छ ।
जिल्लामा ६०३ सक्रिय संक्रमित रहेका छन् भने ६३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देश प्रकाश घिमिरेले जानकारी दिए ।
बागलुङ नगरपालिकाले १० दिन कडा निषेधाज्ञा गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसिलाई सोमवार सिफारिस गरेको थियो । सक्रिय संक्रमितको आधा संक्रमित बागलुङ नगरपालिकामा छन् । रासस