सार्वजनिक या निजी लगानीमा स्थापित हरेक व्यावसायिक संस्थाको उद्देश्य मुनाफा आर्जन गर्नु हुन्छ । मुनाफा तर्कसंगत, न्यायोचित हुनुपर्छ, संसाधनहरूको समुचित, मितव्ययी उपयोग गर्दा पर्न आउने उत्पादन लागतमा उचित प्रतिफल जोडेर आर्जन गरिने मुनाफा नै न्यायोचित मुनाफा हो । कम्पनीले आफ्ना ग्राहकलाई वस्तु वा सेवा बिक्री गरी मुनाफा आर्जन गर्ने भएकाले जुन समाजबाट मुनाफा आर्जन गरेको हो त्यसप्रति केही न केही दायित्व रहनु स्वाभाविक हुन्छ । यसै वस्तुसत्यलाई आत्मसात् गरेर नेपालमा कम्पनीहरूलाई आफ्नो मुनाफाको कम्तीमा १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वमा (सीएसआर) खर्च गर्नुपर्ने प्रावधान राखिएको छ ।