काठमाडौं (अस) । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को नयाँ प्रतिवेदनले रि–सोर्स प्लास्टिक कार्यक्रमका मुख्य सदस्य कोका–कोला, केउरिङ डा. पेपर, म्याकडोनाल्ड्स कर्पोरेसन, पी एन्ड जी र स्टारबक्सले २०१८ र २०२० को बीचमा प्लास्टिक प्रयोगमा ५७ प्रतिशत कटौती गरेको जनाएको छ ।
पुनर्प्रयोग गर्न नसकिने अथवा स–साना सामान जस्तै, स्ट्र, प्लास्टिकका भाँडाकुँडा, भिनाइल र कडा फोमजस्ता सामानको प्रयोगमा कटौती गरेर कुल ७१,००० मेट्रिक टन कम फोहोर उत्पादन भएको हो । प्लास्टिकजन्य पदार्थ उत्पादन र प्रयोगमा कमी आउनुलाई रि–सोर्स प्लास्टिकको दोस्रो वार्षिक प्रतिवेदन : ट्रान्सपरेन्ट २०२१ मा प्रकाशित तथ्यांकलाई मुख्य उपलब्धिको रूपमा हेरिएको कोकाकोलाले जनाएको छ ।
डब्लूडब्लूएफद्वारा २०१९ मा सुरु गरिएको यो कार्यक्रम प्लास्टिकजन्य प्रदूषणमा कर्पोरेट प्रभावको मात्रा निर्धारण गर्ने र लाखौं टन प्लास्टिक फोहोरलाई रोक्न कम्पनीले निर्वाह गरेका भूमिका उजिल्याउने प्रयास हो । डब्लूडब्लूको प्राइभेट सेक्टर इनगेजमेन्टकी सिनियर उपाध्यक्ष शिला बोनिनीले भनिन्, ‘केही समययता व्यवसायले प्लास्टिकजन्य प्रदूषणले निम्त्याएको समस्याबारे कुरा गर्दै आएका छन्, जुन अपरिहार्य नै थियो । तर, अब हामीले प्रश्न गर्ने बेला आएको छ, तपाईंहरूले के गर्नुभएको छ र यसले केही परिवर्तन ल्याएको छ ?’
डब्लूडब्लूएफको ट्रान्सपरेन्ट २०२१ रिपोर्टमा देखाइएको प्रोग्रेसले महत्वाकांक्षी र सामूहिक कार्यको निरन्तरताको आवश्यकता देखाउने कोका–कोला कम्पनीका सिनियर उपाध्यक्ष एवं कम्युनिकेसन्स् सस्टेनेबिलिटी र स्ट्राटेजिक पार्टनरसिप चिफ अफिसर बी पेरेजले बताए ।