चैत २३, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगी व्यवसायीहरुले नेतृत्व लिनुपर्ने बताएका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधवार यहाँ उद्घाटन गर्दै उनले उद्योग व्यवसायको उन्नति र प्रगति विना मुलुक समृद्ध हुन नसक्ने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले हामीले हाम्रो आवश्यकता लागि किन्ने सामान नेपालमा नै बनेको हुनुपर्ने बताए ।
उनले हामीले कच्चापदार्थ होइन, रुपान्तरित र प्रशोधित गरेको सामान बजारमा पठाउनुपर्दछ भन्दै कच्चा होइन, प्रतिस्पर्धात्मक गर्ने खालको सस्तो र गुणस्तरीय सामान उत्पादन गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले राष्ट्रिय आकांक्षा अनुरुप समृद्धि र विकास चाहेको उल्लेख गर्दै यसका लागि उद्यम र उद्योगीलाई सहयोग गर्ने पार्टीको नीति रहेको बताए । उद्योगलाई आधुनिकीकरण गर्दा श्रमिकको पनि आधुनिकीकरण गर्नुपर्ने बताउँदै उनले धितो राखेर मात्र होइन, मानव मस्तिष्कले ऋण पाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले उद्योग व्यवसायले समाज परिवर्तन गर्नुपर्ने भन्दै उद्योग स्थापना गरेर नाफा कमाउने मात्र होइन, मानवलाई सुखी बनाउने माध्यमका रुपमा हुनुपर्ने बताए । रासस