पर्वतका सयौँ बाढीपहिरो पीडित पुनःबासको पर्खाइमा

कुस्मा – पर्वतमा बर्सेनि बाढीपहिराका घटनामा परी दर्जनौँ परिवार घरबारविहीन हुने गरेका छन् । मनसुनजन्य क्षतिबाट घर गुमाएका परिवारका लागि अर्को मनसुन सुरु हुने बेलासम्म पनि पुनःबासको व्यवस्था नहुँदा सयौँ घरपरिवार समस्यामा परेका छन् । जिल्लाका सातवटै पालिकाका झन्डै छ सय घरपरिवार पुनःबासको पर्खाइमा रहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत वर्ष मनसुन तथा […]

सम्बन्धित सामग्री

बाढीपीडितलाई ६ महिनासम्म भएन पुनर्वास

मुगुका बाढीपहिरो पीडित परिवारहरू ६ महिनासम्म पनि पुर्नवासको पर्खाइमा बस्नु परेको छ । बाढीपहिरोले विस्थापित बनाएको ६ महिनासम्म पनि सरकारले व्यवस्थापन नगर्दा उनीहरू खुला चौरमा त्रिपाल टांगेर हिउँदको चिसो कटाउन बाध्य भए ।

तीन महिनादेखि त्रिपालको बास

बाजुराको हिमाली गाउँपालिकाका बाढीपहिरो पीडित अझै पनि त्रिपालमा दिन बिताइरहेका छन्। बाढीपहिरो पीडितको पुनस्र्थापनाको पहल कतैबाट हुन सकेको छैन। वडा नं. ४ बोर्ताका ११२ परिवार त्रिपालमै छन्। त्रिपालमा तीन महिना बिताए पनि राहत र पुनस्र्थापनाको कुनै पहल हुन नसकेको बाढीपहिरो प्रभावितको गुनासो छ। पुर्खौदेखि बसोबास गरिआएको घर असोजको वर्षाले भत्काएपछि उनीहरूसँग अहिले ओत लाग्ने ठाउँ नभएको हिमाली गाउँपालिकाका प्रवक्ता भीमानन्द पाण्डेयले बताउनुभयो। उहाँले गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाले वितरण गरेको राहत प्रभावितलाई पुग्दो नभएको बताउनुभयो। प्रभावित स्थानीय गाँस, बासको पर्खाइमा रहे पनि कुनै निकायबाट सहयोग हुन नसकेको उहाँले बताउनुभयो। गाउँपालिकाबाट सहयोग भएको भए पनि बाढीपहिरो प्रभावितलाई त्रिपाल पुग्दो छैन। एक त्रिपालभित्र धेरै परिवारका सदस्य मिलेर बस्ने गरेका छन्। चिसो मौसममा कठ्याङ्ग्रिँदै त्रिपालभित्र रहेकालाई विभिन्न रोगले समेत सताएको छ। विशेष गरेर दीर्घरोगी, बालबालिकालगायतलाई झनै समस्या भएको पाण्डेयले बताउनुभयो।

सुरक्षित आवासको पर्खाइमा तालगाउँका बाढी प्रभावित

फागुन ११, मनाङ । गत जेठ ३१ र असारको पहिलो साता मर्स्याङ्दी नदीमा आएको बाढीका कारण घरबारविहीन मनाङका नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित नागरिक अझै टेन्ट र टहरामै बस्न बाध्य छन् । चिसो मौसम कठ्याङग्रिदै कटाएका बाढी प्रभावितहरू सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । बाढीका कारण विस्थापित तालगाउँ र सिरानतालका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने चिन्तामा छन् ।  सुरक्षित आवासको अभावमा उनीहरुले भत्किएका संरचना हटाएर टिनको घरटहरा निर्माण गरी बस्न थालेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार गत मंसिरमा गण्डकी प्रदेश सरकारले दिएको रू. दुई लाख र नासाँे गाउँपालिकाको रू. एक लाखमार्फत बाढीपीडितले अस्थायी टहरा बनाएर बस्न थालेका हुन् । बाढीपीडितका लागि अबको वर्षायाम अगावै स्थानान्तरण वा सुरक्षित तबरबाट बस्ती बसाल्न सक्ने अवस्था निर्माण भएको प्रजिअ आचार्यले बताए ।  तीन तहको सरकारसँग आग्रह पश्चात् यहाँका स्थानीयवासी सुरक्षित भएको उनले बताए । गत जेठ ३१ र असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले तालगाउँ र सिरानताल तहसनहस पारेको बस्ती हो ।  जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित वासस्थानको खोजीमा भौँतारिएका स्थानीयवासीलाई हिउँदभित्रै घर बनाउने पिरलो भएको विस्थापितहरु बताउँछन् । बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिबाट प्रभावित स्थानीयवासीलाई पुर्खौली थातथलो छोड्नुपर्ने चिन्ता पनि उतिकै छ । घर बनाउनकै लागि उनीहरूले सुरक्षित ठाउँ अझै पाउन सकेका छैनन् ।  जग्गा अभावकै कारण प्रभावितहरूको सुरक्षित आवास निर्माणको प्रक्रिया समेत अघि बढ्न नसकेको उनीहरु बताउँछन् । सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।  प्रदेश र स्थानीय सरकारले दिएको रकमबाट टहरा बनाउन पनि नपुगेको बाढीपहिरा पीडितको गुनासो छ । रगत पसिना बगाएर बनाइएको घरबारी बगाएपछि गाउँले अलपत्र परेका छन् ।  तालगाउँका बाढी प्रभावित आन्द्रे गुरुङले लामो समयपछि टिनको टहरा बनाएर बस्न पाएकामा खुसी लागेको बताए । ‘ढिलै भए पनि वर्षायाममा ओत लाग्ने ठाउँ बनेको छ । सरकार रहेको आभास भएको छ’, उनले भने ।  नदीको किनारमा रहेको तालगाउँ बाढीको धेरै जोखिमपूर्ण क्षेत्र मानिन्छ । सिरानताल क्षेत्रको भौगर्भिक अध्ययनको तयारी थालिएको जिल्ला प्रशासन कार्यालय मनाङले जानकारी दिएको छ । भौगर्भिक अध्ययनको नतिजापश्चात् यस क्षेत्रको संरक्षणका लागि थप व्यवस्थापन गर्ने तयारी रहेको प्रजिअ आचार्यले बताए । अध्ययनपछि उक्त ठाउँमा बस्न मिल्ने वा नमिल्ने विषयको छलफल गरिने उनको भनाइ छ । नतिजाका आधारमा अन्य कदम चालिने उनले बताए । उनले भने, ‘अध्ययनपछि मात्रै पुनर्वासमा जाने वा यहीँ ठाउँमा बस्ती बसाल्नेबारे निक्र्यौल हुनेछ ।’ तालगाउँका अधिकांश जग्गाको नापी भएको छैन् । धेरै पहिले यहाँ व्यापारिक सहजताका लागि आएर मानिसहरु बस्न थालेको बताइएको छ । यहाँ आधा जति स्थानीयवासी तालमै बस्न इच्छुक देखिएका छन् । बाढीपहिरो पीडित अबको वर्षामा के हुने हो, थाहा छैन भनेर पिरोलिँदै छन् । स्थानीय तहले पनि बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणको प्रयास गरिरहेको बताए पनि ठोस काम देखिएको छैन । बर्षायाम शुरु हुनु अगावै उनीहरूलाई सुरक्षित स्थानमा घर बनाएर स्थानान्तरण गर्न चुनौतीपूर्ण देखिए पनि सफल हुने विश्वास स्थानीय तहको छ ।  स्थानीयवासीको इच्छा विपरीत अन्यत्र स्थानान्तरण गर्ने कुराको पनि छलफल नभएको होइन । तर स्थानीयवासीको इच्छालाई टार्न नसक्दा उनीहरुले अहिले सोही ठाउँमा टीनको छानो बनाएर बसोबास थालेका छन् ।  यस क्षेत्रको भौगर्भिक अध्ययनको नतिजा अनुसार मात्र बस्न नमिल्ने भएमा उनीहरुलाई अन्यन्त्र स्थानान्तरण गर्न सकिने सो गाउँपालिकाले जानकारी दिएको छ । रासस