देखिन थाले विश्वव्यापी आर्थिक संकटका असर : टाट पल्टियो अमेरिकाको ४० वर्ष पुरानो 'सिलिकन भ्याली बैंक'

काठमाडौं । मार्च १० मा अमेरिकाको बैंकिङ नियामकहरुले एसभीबी वित्तीय समूहलाई बन्द गरिदिए । निक्षेपकर्ताहरुको पैसा जोगाइदिन सो बैंकलाई रिसिभरशिप (दामाशाही)मा राखियो । सिलिकन भ्याली बैंक (एसभीबी) एक्कासी धराशयी बनेपछि यसको झट्का स्टार्ट अप कम्युनिटीसम्म पुगेको छ । बैंक स्टार्ट अप कम्पनीका लागि लगानीको भरपर्दो स्रोतको रुपमा रहेको थियो ।  बुधवार बैंकले केही रकम खोज्दैथियो । तर ४८ घन्टाभित्रै ४० वर्षयता चलिरहेको सो बैंक बन्दै भयो । शुक्रवार नियामकहरुले बैंक बन्द गरेर यसको निक्षेप जफ्त गरिदिए । यो सन् २००८ को वित्तीय संकट यता अमेरिकाको सबैभन्दा ठूलो बैंकिङ असफलता हो । अहिलेसम्मको भने यो बैंकिङ असफलताको दोस्रो ठूलो घटना हो ।  बैंकको बासलात बढाउन उसलाई मात्रै २ अर्ब २५ करोड डलर चाहिएको थियो । प्राविधिक कम्पनीहरुलाई ठूलो रकम कर्जा दिएको बैंकले आफ्नो अस्तित्व जोगाउन सकेन । कसलाई के को धन्दा घरज्वाईलाई खानकै धन्दा भने झैं अहिले भेञ्चर क्यापिटल र स्टार्ट अप कम्पनीहरुलाई भने एसभीबीको पतनपछि उसको भूमिका कसले निभाइदेला, अब उप्रान्त आफूलाई चाहिएको पैसा कसले देला भनेर टाउको दुख्न थालिसकेको छ ।  नेपालीमा एउटा उखान छ नि आफ्नो के देखाएर अर्काको नाक छोप्ने भन्ने । बैंकको अवस्था पनि ठ्याक्कै त्यस्तै भयो । महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाउने अमेरिकी केन्द्रीय बैंकको आक्रामक नीतिलाई एसभीबीको अवसानको मुख्य कारण मानिएको छ । यसको असर यतिमा मात्रै पक्कै सीमित हुने छैन । यसका अन्य दूरगामी असर आउनेछन् । एसभीबी अमेरिकाको १६ औं ठूलो बैंक थियो । स्टार्ट अपहरुले अहिले नै अनेकन समस्या भोगिरहेका छन् । एसभीबीको पतनपछि उनीहरुलाई आफूलाई चाहिएको रकमको जोहो गर्न नै सकस हुने निश्चितप्रायः छ ।  उच्च ब्याजदरको कारण उत्पन्न विकृतिले एसभीबीको पतन भएको हो । एसभीबीसँग पहिला देखि नै पूँजी कम थियो । ब्याजदर धमाधम बढ्न थालेपछि आईपीओ जारी गर्न र निजी स्तरबाट रकमको जोहो गर्न स्टार्टअपहरुले उसँग पैसाका लागि झनै धेरै हात थाप्न थाले । बढ्दो कर्जा प्रवाहको माग पूरा गर्न विक्रीका लागि उपलब्ध ऋणपत्र घाटै खाएर भएपनि बेच्न बैंक बाध्य बन्यो । क्रिप्टोमा आधारित सिल्भरगेट धराशयी बनेकै बेलामा एसभीबीलाई ताजा पूँजी चाहियो ।  यस्तो भएपछि भीसीहरुले पनि बिहीवार आफ्नो पोर्टफोलियो कम्पनीहरुलाई सकेसम्म चाँडै पैसा झिकिहाल्न निर्देशन दिए । बिहीवार मध्याहन्न एउटा कलमा क्लाइन्टहरुलाई शान्त रहन अनुरोध गर्दै गर्दा एसभीबीका सीईओ ग्रेग बेकर आफैं भने अशान्त देखिन्थे । नियमित समयको कारोबारमा बैंकको शेयर ६० प्रतिशतभन्दा धेरैले गुमिसकेको थियो । २ अर्ब ५० करोड डलर बैंकले उठाउने अन्तिम पैसा हो भनेर बेकरले आश्वासन दिनै सकेनन् ।  बिहिवार सकिँदासम्म ग्राहकहरुले बैंकबाट ४२ अर्ब डलर निक्षेप फिर्ता लगेको क्यालिफोनिर्याको नियामक फाइलिङले देखाएको छ । उक्त दिन कारोबार बन्द हुँदा बैंकको बासलात ९५ करोड ८० लाख डलर माइनसमा थियो । बैंकसँग अन्य स्रोतबाट रकम उठाउन पर्याप्त धितो पनि नभएको नियामकले भनेको छ । बैंक एक्कासी टाट पल्टिनुलाई बैंकका एक पूर्व कर्मचारीले प्रविधिमा लगानी गर्ने समूदायको एक अर्काबीच जेलिएको सम्बन्धलाई देखाएका छन् । बैंक टाटै पल्टिने देखेपछि युनियन स्क्वायर भेञ्चर्स र कोटु म्यानेजमेन्ट समेतका प्रमुख कोष कोषहरुले आफ्ना ग्राहकहरुलाई एसभीबीमा भएको पैसा सबै धमाधम झिक्न भन्दै मेल नै गरेका थिए । यसमाथि सामाजिक सञ्जालले पनि त्रासमाथि त्रास थपिदियो । एसभीबीको स्थितिसम्बन्धी तथ्यबारे लगानीकर्ताहरु गलत देखिए । बैंकमा तरलताको समस्यै थिएन । भए केही थियो । तर पैसा झिकिहाल भनेर मेलहरु आउन थालेपछि निक्षेपकर्ताहरुले अत्तालिएर आफ्नो निक्षेप झिक्न थाले । अनि अर्बौ डलर भएको बैंक केही समयमा टाट पल्टियो । बैंकमा व्यापार सामान्य छ भन्दै एसभीबीका केही ग्राहकहरुलाई मेल गरिएको थियो । तर केही समस्या भइहाल्यो भने के गर्नु भनेर सबैले आ–आफ्नो पैसा जोगाउन तिर लागे । जति जति निक्षेप फिर्ता हुँदै गयो । बैंक डुब्दै गयो । बैंकले शेयर बेच्ने प्रयास पनि त्यागिदियो । बैंकले आफूलाई बेचिदिने क्रेता खोज्यो । निक्षेप छुमन्तर हुन थालेपछि त्यो प्रयास पनि असफल भयो । समग्रमा भन्नु पर्दा फेडको ब्याजदर वृद्धि, बैंकका केही ग्राहकहरुको नगद अभाव, घाटामा बन्ड पोर्टफोलियो बेच्नु, शेयर विक्रीको असफल प्रयासले बैंकको अवसान निम्त्यो । स्टार्ट अप र भेञ्चर क्यापिटल कम्पनीहरुलाई ऋण दिने बैंक अब आफ्नो दायित्व पूरा गर्न आवश्यक पैसा तिर्न नसक्ने अवस्थामा छ । अहिले बैंक दामाशाहीमा पुगेको छ । एसभीबीको अवसानको खबरसँगै शुक्रवार विश्व शेयर बजार रक्ताम्मे बनेको थियो । यसको असर अन्यत्र कसरी पोखिन्छ भनेर चाँहि हेर्न बाँकी नै छ । एजेन्सीहरुको सहयोगमा 

सम्बन्धित सामग्री

क्रेडिट स्वीस खरीदमा सरकारसँग ६ अर्ब डलर प्रत्याभूति खोज्दैछ यूबीएस

काठमाडौं । विश्व बैंकिङ जगतमा बैंकहरू असफल हुने पछिल्लो शृङ्खलामा कतै स्वीस बहुराष्ट्रिय लगानी बैंक क्रेडिट स्वीस पनि पर्ने हो भन्ने आशंका चुलिएको छ । विगत २–३ वर्षयता वित्तीय समस्यामा फसेको बैंकलाई जोगाउन स्वीस केन्द्रीय बैंक र वित्तीय  नियामकहरू अर्को स्वीस बैंक यूबीएसले किनोस् भन्ने चाहिरहेका छन् । यूबीएस बैंकले भने क्रेडिट स्वीस किन्न सरकारसँग ६ अर्ब डलरको प्रत्याभूतिको माग गरिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । सोमवारसम्म यो सम्झौतालाई सहमतिमा ल्याएर क्रेडिट स्वीसको शेयरमा गइरहेको पहिरो रोक्ने आशा केन्द्र बैंक र वित्तीय नियामकको छ । अमेरिकाको मझौला आकारको बैंक सिलिकन भ्याली बैंक (एसभी बैंक) गएको हप्ता धराशायी बनेयता अमेरिकामै अर्का २ बैंकको अवसान भएको छ । एसभी बैंकको अवसानको असर अमेरिका, यूरोप हुँदै विश्वभर नै वित्तीय क्षेत्रमा पोखिने भय बढिरहेकै समयमा स्वीटजरल्यान्डको १६७ वर्ष पुरानो बैंकको भविष्य पनि धरापमा पर्न लागेको देखिन्छ । सरकारले दिने ६ अर्ब डलरलाई यूबीएसले क्रेडिट स्वीसको पार्ट्सहरू टुक्र्याउन र मुद्दा मामिलाहरूमा लगाउने बैंकको आशय भएको 'रोयटर्स'मा समाचार छ । यूबीएसमा क्रेडिट स्वीस गाभ्ने विषयमा सरकारको प्रत्याभूति एउटा मात्रै तगारो हो । दुई बैंक मर्जरपछि हुने कर्मचारी कटौती, यूबीएसकै शेयरधनीहरूको यो योजनालाई अनुमति दिने/नदिने जस्ता अन्य कयौं समस्याहरू छन् । सोमवार बजार खुल्नुअघि नै यो समस्याको समाधान निकाल्ने दौडधूपमा स्वीस नियामकहरू छन् । यी दुई विशाल स्वीस बैंक गाँभ्दा उत्पन्न हुने जटिलताहरू हट्ने संकेत छैन । एसभी बैंकको पतनसँगै अमेरिका र यूरोप क्षेत्रमा बैंकिङ क्षेत्रप्रति लगानीकर्ता र निक्षेपकर्ताहरूको मनोबल खस्किएको थियो । यस्तोमा क्रेडिट स्वीसको सबैभन्दा ठूलो शेयरधनी साउदी नेशनल बैंकले बैंकमा थप लगानी नखन्याउने भन्ने अभिव्यक्तिले 'आगोमा घ्यू'को काम गरेको छ । अमेरिकामा राष्ट्रपति जो बाइडेनले निक्षेपकर्ताहरूको निक्षेपलाई जोगाउने वाचा गर्दा पनि बैंकिङ क्षेत्रका शेयरमा पहिरो रोकिएन । स्वीस सरकारले पनि क्रेडिट स्वीसमाथिको विश्वास फर्काउन बैंकमा ५० अर्ब डलरभन्दा धेरै प्रवाह गरिदिएको थियो । क्रेडिट स्वीस किन्न अहिले स्वीस अधिकारीहरूले यूबीएसलाई दबाब दिइरहेका छन् । यो सम्झौतालाई फाष्ट ट्र्याकमा ल्याउन स्वीट्जरल्यान्डले आकस्मिक उपायहरू अपनाउने बुझिएको छ । यस मामिलामा स्वीस सरकारले अमेरिकी र बेलायती अधिकारीहरूसँग पनि मिलेर काम गरिरहेको बताइएको छ । गएको एक हप्तामा मात्रै क्रेडिट स्वीसले आफ्नो एक चौथाई बजार पूँजीकरण गुमाएको थियो । एजेन्सी

एकै दिनमा एसभी बैंकको अवसान अनिष्टको संकेत हो त ?

काठमाडौं । मार्च १० मा विश्व शेयरबजार रक्ताम्मे बन्यो । अमेरिकी बैंकिङ नियामक हरूले सिलिकन भ्याली बैंक (एसभीबी) बन्द गर्दाको परिणति थियो, त्यो । नियामकहरूले निक्षेपकर्ताको पैसा जोगाइदिन बैंकलाई दामासाहीमा राखेका छन् । एसभीबी एक्कासि धराशयी बनेपछि यसको झट्का स्टार्ट अप समुदायसम्म पुगेको छ । एसभीबी स्टार्ट अप कम्पनीका लागि लगानीको भरपर्दो स्रोत थियो ।  अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले १ वर्षभन्दा कम समयमा ब्याजदर १ हजार ७०० प्रतिशतले बढाउँदाको परिणति बैंकको अवसान बन्यो । फेडले महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाएपछि एसभीबीको ऋणपत्रभन्दा आकर्षक बन्यो फेड । मानिसहरूले आफ्नो पैसा एसभीबीबाट झिक्न थाले । निक्षेपकर्ताले धमाधम पैसा झिक्न थालेपछि त्यो चुक्ता गर्न एसभीबीलाई छिट्टै नै थप पैसा चाहियो । बुधवार बैंकले त्यसका लागि केही रकम खोज्दै थियो । कतैबाट पैसा नजुटेपछि घाटै खाएर ऋणपत्र बेच्यो ।  यो फेडको आक्रामक ब्याजदर वृद्धिले के हुन सक्छ भन्ने एउटा सानो उदाहरण मात्रै हो । कुनै बेला तुलनात्मक रूपमा स्थिर मानिएको बैंकले पनि ब्याजदर वृद्धिको झट्का खेप्न सकेन । दोष फेडको मात्रै हो त ? पक्कै होइन । ब्याजदर तीव्र दरमा बढेको अनि आर्थिक मन्दीको जोखिम उच्च भएको अवस्थाका लागि बैंकले फिटिक्कै तयारी नगर्दा बैंक १ दिनमै पतन भयो ।  फेडले १५ वर्षसम्म ब्याजदर शून्यको स्तरनजिक राखेर अर्थतन्त्रलाई चाहिनेभन्दा धेरै प्रोत्साहन दिइर≈यो । फेडले सन् २०२१ को मार्चमा यू टर्न लिएपछिको असर क्रिप्टोबजारमा यसअघि नै देखिएको थियो । एफटीएक्स र सिल्भरगेट धराशयी बने । तीव्र वृद्धि भइरहेको प्रविधि क्षेत्र दोहोरो अंकले घट्यो । अब ब्याजदर वृद्धिको चपेटामा कुन क्षेत्र पर्छ भन्ने अहिलेको गहन प्रश्न बनेको छ ।  ब्याजदर वृद्धिको चक्र फेरिँदा के हुन्छ भन्ने राम्रो उदाहरण हो एसभीबीको पतन । ४० वर्षयता चलिरहेको एउटा बैंक १ दिनमै स्वाहा भयो । शुक्रवार नियामकहरूले बैंक बन्द गरेर यसको निक्षेप जफत गरिदिए । यो सन् २००८ को वित्तीय संकटयता अमेरिकाको सबैभन्दा ठूलो बैंकिङ असफलता हो । अहिलेसम्मको भने यो बैंकिङ असफलताको दोस्रो ठूलो घटना हो ।  बैंकको वासलात बढाउन उसलाई २ अर्ब २५ करोड डलरमात्रै चाहिएको थियो । प्राविधिक कम्पनीहरूलाई ठूलो रकम कर्जा दिएको बैंकले आफ्नो अस्तित्व जोगाउन सकेन । भेन्चर क्यापिटल र स्टार्ट अप कम्पनीहरूलाई भने एसभीबीको पतनपछि उसको भूमिका कसले निभाइदेला, अब उप्रान्त आफूलाई चाहिएको पैसा कसले देला भनेर टाउको दुख्न थालिसकेको छ ।  महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाउने अमेरिकी केन्द्रीय बैंकको आक्रामक नीतिलाई एसभीबी अवसानको मुख्य कारण मानिएको छ । यसको असर यतिमा मात्रै पक्कै सीमित हुने छैन । यसका अन्य दूरगामी असर आउनेछन् । एसभीबी अमेरिकाको १६औं ठूलो बैंक थियो । स्टार्ट अपहरूले अहिले नै अनेक समस्या भोगिरहेका छन् । एसभीबीको पतनपछि उनीहरूलाई आफूलाई चाहिएको रकमको जोहो गर्न सकस हुने निश्चित छ । एसभीबीसँग पहिलादेखि नै पूँजी कम थियो ।

चर्को ब्याजदर र अर्थतन्त्र

बैंक तथा वित्तीय संस्थाले कर्जामा लिने गरेको ब्याज निकै बढी भएको भन्दै व्यवसायीहरू आन्दोलित भइरहेका छन् । केन्द्रीय बैंकको कसिलो मौद्रिक नीतिका कारण वाणिज्य बैंकहरूले कर्जामा लिने ब्याजदर १० वर्ष यताकै उच्च रहेको देखिएको छ । तर, विगतमा यो भन्दा बढी ब्याजदर भए पनि यस्तो विरोध भएको भने थिएन । त्यसैले समस्या ब्याजदरमा भन्दा पनि अन्यत्र रहेको विज्ञहरूको विश्लेषण रहेको पाइन्छ । कोभिड–१० महामारी कम हुन थालेपछि बैंकहरू कर्जा विस्तारमा आक्रामक भएपछि ब्याजदर उकालो लाग्न शुरू भएको हो । बजारमा तरलताको कमी हुँदै गएपछि निक्षेप तानातानको अवस्था आयो र ब्याजदर बढ्न थाल्यो । त्यसमा पनि मुलुकको विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि नेपाल राष्ट्र बैंकले उपभोग घटाउन कर्जा प्रवाहमा कडाइ गर्ने नीति लियो । नेपालमा उत्पादन नहुने भएकाले उपभोग्य वस्तुहरूको ठूलो परिमाणमा आयात भएपछि विदेशी विनिमय सञ्चितिमा दबाब परेको थियो । यसलाई रोकेर उपभोग घटाउन ब्याजदर बढाउने नीति केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत लियो । उसले कर्जा उपभोग निरुत्साहन गर्न बैंकदरमा वृद्धि गर्‍यो । उसको मौद्रिक नीतिबाट बैंकहरूको पूँजीको लागत बढ्न जाँदा कर्जाको ब्याजदर बढेको हो । तर, व्यवसायी र सर्वसाधारणको आक्रोश भने बैंकहरूप्रति बढी लक्षित छ । यद्यपि निजीक्षेत्रको प्रतिनिधिमूलक संस्थाहरूले भने राष्ट्र बैंकसँग ब्याजदर घट्ने गरी मौैद्रिक नीतिको अर्धवार्षिक समीक्षा ल्याउन आग्रह गरेका थिए । ब्याजदर बढी भएपछि अर्थतन्त्रको लागत पनि बढ्छ । त्यसको मार उपभोक्ताले पाउने त छँदै छ, अर्थतन्त्रको गति समेत सुस्त हुन्छ । अहिले अर्थतन्त्र सुस्ताउनुको एउटा कारण चर्को ब्याजदर पनि हो । तर, यही विषयलाई लिएर बैंक तथा वित्तीय संस्थामाथि प्रहार हुन थालेको छ जुन गलत छ । जनतामा गलत सन्देश गयो भने के हुन्छ भन्ने कुरा अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टिएको घटनाले पुष्टि गर्छ । बैंक तथा वित्तीय संस्था भनेका विश्वासको आधारमा चल्ने संस्था हुन् । तिनमा थोरै मात्र पनि तलमाथि भयो भने ती धराशयी हुन बेर लाग्दैनन् । त्यसले समग्र अर्थतन्त्रमा गम्भीर असर पार्छ । त्यसैले केन्द्रीय बैंकले पनि यसलाई गम्भीर रूपमा लिएर ब्याजदरसम्बन्धी नीतिमा पुनरवलोकन गर्नु उपयुक्त हुन्छ ।