छोटकरीमा : आज - २०७७ पौष १७, शुक्रबार

आज 'फाइजर-बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति', 'प्रधानमन्त्रीले झुटो बोलेको निर्वाचन आयोगको ठहर', 'नेकपा एकता जोगाउने सम्भावना अझै जीवित रहेको वामदेव गौतमको दावी', 'जसपा र नेकपा एकीकृत मार्क्सवादीबीच एकता घोषणा' लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद् विघटन गरेको बताएका छन्। सरकारले संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय गरेसँगै यो कदम संवैधानिक वा असंवैधानिक हो भन्ने विषयमा निकै ठूलो बहस भइराखेता पनि यो काम सरकारको अग्रगामी कदम रहेको उनको मत थियो।


सरकारले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाका लागि एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने १ सय ५६ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई ८,८४८.८६ मिटर भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णयसमेत गरेको छ।


राष्ट्रिय सभाका कांग्रेस सदस्य नेता जितेन्द्रनारायण देवले नेकपा र सरकारले विदेशीलाई चलखेल गर्न दिएर नेपालको राष्ट्रियता कमजोर पारेको आरोप लगाएका छन्। कम्युनिस्ट पार्टीका नेताहरुले बारम्बार देश भक्ति र राष्ट्रियता कुरा गर्ने र कहिलेकाहीं आक्रमक ढंगले कांग्रेसलाई गाली गरेपनि अहिले विदेशी चलखेलबारे चुप बसेकाप्रति सांसद देवले आपत्ति जनाएका थिए।


संसद् विघटनविरुद्ध बृहत् नागरिक आन्दोलनले शुक्रबार माइतीघर मण्डलामा च्याब्रुङ बाजासहित प्रदर्शन गरेको छ। साताव्यापी विरोध कार्यक्रम स्वरुप उनीहरुले च्याब्रुङ बजाउँदै प्रदर्शन गरेका हुन्।गत पुस ११ गते आरम्भ भएको कार्यक्रममा विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता हुँदै आएको छ।


नेकपा नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अहिलेको संकटको मुख्य कारक पुष्पकमल दाहालको अभियोगपत्र रहेको बताएका छन्। अबको विकल्प निर्वाचन भएको र जनताको मतका आधारमा मात्रै नयाँ निकास निस्कने उनको मत थियो।


प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारिकता र चुनाव चिह्न 'सूर्य' माग गर्दै पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा दिएको निवेदन 'कानुनी रित नपुगेकाले फिर्ता गरिएको' दाबी गरेका छन्। तर निर्वाचन आयोगका अधिकारी र दाहाल-नेपाल पक्ष नेताले भने उक्त विषयमा कुनै निर्णय नभएको बताएका छन्। 


राप्रपाका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्रको पुन:स्थापना र हिन्दुराष्ट्र कायम गर्नुपर्ने बताएका छन्। देशमा प्रतिनिधिसभा विघटन हुनुमा वर्तमान सरकार, कुनै राजनीतिक दल तथा नेताहरु मात्र नभई १४ वर्षअघि सुरु गरिएको गणतन्त्रको बाटो र विचार नै दोषी भएको पनि बताए।


मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राईले नेकपा संसदीय दलको विधान विपरीत आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने थप एकजना प्रदेशसभा सदस्यलाई शुक्रबार निलम्बन गरेका छन्। राईले नेकपा दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेलाई निलम्बन गरेका हुन्।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको बताउँदै अझै पनि एकता जोगाउने सम्भावना जीवित रहेको बताएका छन्। प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसलाअघि वा पछि पनि एकताको सम्भावना जीवित रहने उनको भनाइ छ।


जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ। शुक्रबार दुवै पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा ललितपुरमा कार्यक्रम गरी एकताको घोषणा गरिएको हो। 


नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ। तीन वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको बताउँदै विभागले केही सञ्चारमाध्यममा अघोषित लोडसेडिङ सुरु भएको र विद्युत् आपूर्ति व्यवस्थापन गर्न नसकेको भन्ने समाचारहरु झुटो भएको बताएको हो। 


सर्वोच्च अदालत बार एसोसिएसनले एमिकस क्युरीका लागि वरिष्ठ अधिवक्ताहरु खगेन्द्रप्रसाद अधिकारी र पूर्णमान शाक्यको नाम पठाएको छ। संसद् विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले एमिकस क्युरीका लागि दुईजना माग गरेको थियो। 


डब्लुएचओले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। डब्लुएचओले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज भएको छ। 


दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० जनाको ज्यान गएको छ। साथै दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्।


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक