छोटकरीमा : प्रतिनिधि सभा विघटनबारे कसले के भने?

प्रतिनिधिसभा विघटन भएको तीन हप्ता पुग्न लाग्दा प्रधानमन्त्रीको सो कदमबारे राजनीतिक दलका नेताहरू तथा नागरिक समाजबाट विभिन्न टीकाटिप्पणी भइरहेका छन्। प्रचण्ड–माधव समूह, ओली समूहका नेताहरू, प्रतिपक्षी दलका नेताहरू मात्र नभई मानवअधिकारकर्मीहरू, राष्ट्रियसभा सदस्यहरू, सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरू तथा सचेत नागरिकहरूले विभिन्न भनाइहरू राख्दै आइरहेका छन्। जसलाई यहाँ सूचाक्षर गरिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको बताएकी छन्। राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने उनको मत थियो।


मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्धमा धकेलेको बताएका छन्। पहाडीले गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने र देशलाई गृहयुद्धमा धकेल्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको टिप्पणी गरेका हुन्।


नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कमेडी’को संज्ञा दिएकी छन्। चितवनमा सोमबार आयोजित प्रचण्ड-माधव समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी प्यालेस र बालुवाटारमा ओलीले कमेडी देखाइरहेको बताएकी हुन्।


विभाजित नेकपा दाहाल–नेपाल पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन कम्युनिष्ट पार्टीको सामूहिक आत्महत्या बताएका छन्। स्पष्ट बहुमत हुँदाहुँदै ओलीले सनक र दम्भको भरमा संसद् विघटन गरेर कम्युनिष्टको नाममा कलंकको काम गरेको आरोप लगाएका भुसालले संसद् विघटनमा राष्ट्रपतिले समेत फूलबुट्टा भरेको बताएका छन्।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता, पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डको पदलोलुपताका कारण नेकपा संकटमा परेको बताएका छन्। प्रचण्डले पद नपाएपछि पार्टीलाई गहिरो संकटमा पारेको भन्दै पोख्रेलले विगत लामो समय अघिदेखि पार्टीभित्र अन्तर्संघर्ष प्रचण्डले नै चर्काउँदै लगेको बताए।


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै पुनःस्थापना हुनुपर्ने बताएका छन्। आफूहरू संविधान निर्माता भएकाले अदालतमै पुगेर पनि विघटन गर्ने विशेषाधिकार नरहेको बताउने उनको दाबी थियो।


जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले पनि संसद् पुनःस्थापना गर्न सक्दैन भनेर दिएका अभिव्यक्तिले चिन्ता थपेको बताएका छन्।


कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रजस्तै बिदा हुने बताएका छन्। सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरू इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको भनाइ छ। 


नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष माधवकुमार नेपालले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सँगै सडकमा आउन प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह गरेका छन्। 


नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओली पश्चगमन, गणतन्त्र र संघीयताविरोधीको प्रतिनिधि पात्र बनेको आरोप लगाएका छन्। उनले पूर्वएमाले र पूर्वमाओवादी ध्रुवीकृत हुने कुराले मुलुकलाई शान्तिसम्झौताअगाडिको द्वन्द्वको अवस्थामा पुऱ्याउने र समाजलाई पछाडि धकेल्ने बताए। 


प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आरोप लगाएका छन्। भट्टराईले ओलीलाई राजनैतिक क्यान्सरको संज्ञा दिएका छन्।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गरेका छन्। पार्टीको बैठक महासचिवले अध्यक्षको सहमतिमा बोलाउने र निर्णय गर्ने विधि भएकाले केपी शर्मा ओली अध्यक्ष भएको पार्टी नै वैधानिक भएको जिकिर उनले गरेका छन्।


संविधानसभाका तत्कालिन सभामुख तथा नेकपा (ओली समूह) का नेता सुवास नेम्वाङले संसद विघटनबारे सर्वाेच्चकाे फैसलापछि मात्र बाेल्ने बताएका छन्। तत्कालिन समयमा प्रधानमन्त्रीले संसद विघटनकाे व्यवस्था संविधानमै नराखिएकाे उल्लेख गरेकाे भिडियाे सार्वजनिक भएपछि उनले यस्ताे स्पष्टीकरण दिएका छन्। युएनडिपी र संसद सचिवालय २०७६ साल साउन ४ गते धुलिखेलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने बताएका थिए।


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानका संवाहकले नै संविधान हत्याको बाटो रोजेपछि आफ्नो पार्टीले रामराम बाहेक अरु केही गर्न नसक्ने बताएका छन्। उनले संसद विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्ने बताएका छन्। अदालतलाई दवाव वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुन नहुने उनकाे भनाइ छ। 


नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले आफू दुई तिहाइ केन्द्रीय सदस्यहरूबाट चुनिएको सर्वसम्मत भएको अध्यक्ष भएको बताएका छन्। ओलीले नेतृत्व गरेको गुट नेकपा नभएको नेपालले बताए। प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई माया लागे नेकपा (ओली गुट) भन्‍न आग्रह गरेका हुन्। 


राष्ट्रियसभा सदस्य एवं नेकपा उपाध्यक्ष वामदेव गौतमले अविश्वास प्रस्ताव आउँदैछ भन्ने थाहा भएपछि प्रधानमन्त्रीले राजीनामा नदिएर पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको बताएका छन्। राष्ट्रियसभाको सातौं अधिवेशन बैठकमा बोल्दै गौतमले प्रधानमन्त्री केपी शर्मा ओली प्रनिनिधिसभा विघटन गर्दा आफूलाई कुनै जानकारी नदिएको गुनासो समेत गरेका छन्। 


राष्ट्रियसभाको बैठकमा सांसदहरूले प्रतिनिधिसभा विघटनबारे पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त गरेका छन्। सभाकाे विशेष समयमा सांसद रामनारायण बिडारीले संविधानसभाले लामो समय लगाएर बनाएको संविधानको धारा ७६ र १०० लाई देश र विदेशका विज्ञसमेतको परामर्शमा प्रतिनिधिसभा प्रधानमन्त्रीको इच्छामा भङ्ग हुन सक्दैन भनेर आफूले जानेसम्मको भाषा लेखिएको विचार राखेका हुन्।


नेपाली कांग्रेसको राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गम्भीर राजनीतिक प्रश्न उठाएका छन्। राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रश्न गरे, “के राष्ट्रपति नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष हो? कार्यकर्ता हो?”


प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले आफ्नै पार्टीको नेतृत्वमा रहेको शक्तिशाली सरकारविरुद्ध पार्टीभित्रबाटै बञ्चरो चलाउने काम भएपछि प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणा भएको बताएका छन्। प्रधानमन्त्री ओलीले भारी मन लिएर गरेको उक्त कदम बाध्यात्मक रूपमा चालेको बताए।


राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलले ६० वर्षपछि २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले गरेको शाही कदमको पुनरावृत्ति भएको बताएकी छन्। उनले संविधानको कुनै धारामा उल्लेख नभएको प्रावधानमा टेकेर प्रतिनिधिसभा विघटन गर्नुलाई शाही कदमको पुनरावृत्ति भएको बताएकी हुन्।


राष्ट्रियसभा सांसद विमला राई पौड्यालले राजनीतिक दलले गरेको आन्दोलनमा राष्ट्रपतिको यौनिकतालाई विषय उठाइएको भन्दै आपत्ति जनाएकी छन्। केही दिनअघि काठमाडौँमा नेकपाको प्रचण्ड– माधव समूहले गरेको विरोध कार्यक्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी भएको थियो।


राष्ट्रियसभाका सांसदहरूले प्रतिनिधिसभा विघटनको चर्को विरोध गरेका छन्। सांसद मृगेन्द्रकुमार सिंह यादवले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असामयिक कदम हो।’


नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नमानेर हिटलर बन्न खोजेको आरोप लगाएका छन्। राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफूले संविधान नमान्ने, अरुले मात्र मान्नुपर्ने भन्ने सोचाइ राखेको भन्दै उनी हिटलर हो भनी प्रश्न गरेका हुन्।


नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूलाई पार्टी एक रहँदा अध्यक्ष केपी ओलीले खेदेको खेदै गरेको बताएका छन्। देश डुब्न लाग्यो भन्ने संसदमा दिएको अभिव्यक्तिपछि ओलीले खेदेको उनले बताए।


पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनकाे निर्णय असंवैधानिक भएकाे बताएका छन्। चारजना पूर्वप्रधानन्यायाधीशहरूले संयुक्त व्यक्त जारी गर्दै संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको बताएका हुन्।


नेपालका छिमेकी देशहरूले पनि नेपालकाे संसद विघटनबारे विभिन्न रूपमा प्रतिक्रिया दिएका छन्। भारतले संसद विघटनलाई नेपालकाे आन्तरिक मामिला भएकाे बताउँदै घटना आफूहरूकाे जानकारीमा रहेकाे उल्लेख गरेकाे छ। चीनले औपचारिक रूपमा कुनै प्रतिक्रिया नजनाएकाे भएपनि नेकपा एकता खल्बलिन नदिन कसरत गरिरहेकाे बताइएकाे छ। यसै सन्दर्भमा चिनियाँ प्रतिनिधि मण्डलले संसद विघटन लगत्तै नेपाल भ्रमण समेत गरेकाे थियाे।


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक