होटल व्यवसायी र मजदूर बीच सहमति, मजदूरले पाउने भए बढेको पारिश्रमिक

वैशाख ६ , काठमाडौं । होटल मजदूरहरुले न्यूनतम पारिश्रमिक प्राप्त गर्ने निश्चित भएको छ । उनीहरुले सरकारले यसअघि वृद्धि गरे अनुसारको  पारिश्रमिक  पाउन सकेका थिएनन् । यसमा कोरोना महामारीका कारण होटल व्यवसाय नचलेको भन्दै कतिपय होटलले बढेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा ल्याएका थिएनन्  । होटल संघ नेपाल (हान) र कर्मचारीसँग सम्बन्धित विभिन्न ट्रेड युनियनहरु बीच पारिश्रमिक कार्यान्वयन गर्ने बारे सोमवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सहमति अनुसार अव वृद्धि भएको पारिश्रमिक मजदूरले पाउने छन् ।  होटल संघ नेपालका अध्यक्ष सृजना राणाको अध्यक्षतामा संघका पदाधिकारी तथा पर्यटन तथा होटलसँग सम्वद्ध तीन ओटै क्रियाशील केन्द्रीय स्तरका ट्रेड यूनियन (नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदूर यूनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदूर संघ र नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ) का अध्यक्ष र प्रतिनिधि बीचको संयुक्त बैठकपछि सहमति भएको हो । सम्झौतामा  २०७७ असार २८  गते र  २०७७ माघ १३ गते होटल संघ नेपाल र मजदूर यूनियन बीच भएको सम्झौता तत्कालीन परिस्थिति र समय अनुसार मनासिव रहेको उल्लेख गरिएको छ । सो सम्झौतामा उल्लेख भएका विषयहरुमा विवाद नगर्ने, विवाद भएमा वा रहेमा सम्झौता बमोजिम हुने गरी सहमति जुटेको छ । उक्त सम्झौता अनुसार सञ्चालनमा आएका होटलका लागि २०७६ चैत ११ गतेभन्दा अगाडि मजदूर तथा कर्मचारीले प्राप्त गरेको तलव भत्ता, सेवासुविधा तथा सामूहिक सम्झौताबाट प्राप्त गरिएका सुविधाहरु उपलब्ध गराउने सहमति पनि भएको छ । कारोबार सञ्चालनमा नआएका होटल, बन्द तथा पुनर्निर्माणमा रहेका होटल र आंशिक सञ्चालनमा आएका होटल प्रतिष्ठानहरुको हकमा स्थानीय आधिकारीक यूनियन वा क्रियाशिल ट्रेड युनियन र व्यवस्थापन बीचमा हुने आपसी सम्झौता बमोजिम हुने समेत सहमति भएको छ । होटल प्रतिष्ठान र श्रमिक तथा कर्मचारीहरु बीचमा विगतमा भए गरेका वा भविष्यमा हुने सम्झौताहरुको हकमा कुनै श्रम विवाद उत्पन्न हुन गएमा केन्द्रीय ट्रेड यूनियन र होटल संघ नेपालमार्फत समस्याको समाधान गरिने समेत सम्झौतामा उल्लेख छ । बन्दाबन्दीको अवस्थामा भएका सम्झौताहरु कार्यान्वयन नभएका होटल तथा प्रतिष्ठानहरुले कार्यान्वयन गर्ने र सेवा शुल्क प्रतिष्ठानहरुले काममा बोलाएका वा नबोलाएका सम्पूर्ण मजदूरहरुलाई दामासायी रुपमा सबैलाई वितरण गर्नेसमेत सहमति भएको छ।

सम्बन्धित सामग्री

कोरोनाकै कारण सञ्चालनमा आयो सुपरमार्केट

चितवन । कोभिड–१९का कारण पर्यटन व्यवसाय ठप्प भएपछि सौराहाका व्यवसायीले विकल्पको बाटो खोजे । कोभिड–१९ को समयमा मजदूर र कर्मचारी समेतलाई बिदा दिएर फुर्सदिला बनेका होटलका सञ्चालकरूले सदावहार चलायमान हुने व्यवसायको खोजी गरे । यही क्रममा व्यवसायी सौराहा नजिकैको बकुलहरमा सेभ सुपरमार्केट सञ्चालन गर्ने निचोडमा पुगे । शुरूमा तीन जनाबाट थालिएको छलफल र काम अघि बढ्दै जाँदा यो समूहमा १८ जना लगानीकर्ता आबद्ध हुन पुगेका छन् । सोह्र जना सौराहाका होटल व्यवसायी रहेको सञ्चालकमध्येका एक सुमन घिमिरेले बताए । बकुलहरमा बन्द रहेको ज्योति हल भएको जग्गा भाडामा लिएर यो समूहले सुपरमार्केट शुरू गरेको हो । उनका अनुसार रु १६ करोड लगानीमा सुपरमार्केट सञ्चालनमा आएको हो । पूर्वी चितवनकै सुविधा सम्पन्न सुपरमार्केटमा एकै ठाउँमा आवश्यक सम्पूर्ण घरायसी सामान पाइने गरी व्यवस्थापन गरिएको दाबी सञ्चालकले गरेका छन् । सुपरमार्केटका सञ्चालक एवं सौराहा भेन्चरस् प्रालिका अध्यक्ष नारायण भट्टराईले शरूमा सपिङ सेन्टर मात्रै सञ्चालन गर्ने लक्ष्य लिइएपनि विस्तारै २ सिनेमा हल सञ्चालनमा ल्याइने बताए ।  सुपरमार्केटको पहिलो तलामा ग्रोसरी, दोस्रो तलामा किचेनवेयर तथा इलेक्ट्रिकल पसल राखिएको छ । तेस्रो तलामा स्केट पार्क रहने छ । सौराहामा रहेका होटल तथा रेष्टुराँलाई अब सामान खरिदकै लागि भरतपुरसम्म पुग्नुपर्ने बाध्यता हटेको भट्टराईले बताए । अर्का सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार समूहले सेभ सुपरमार्केटलाई विस्तारै आउटलेटका रुपमा चितवनभरि फैलाउने योजना बनाएको छ । वैकल्पिक व्यवसायलाई पनि साथमै लैजाने योजनाका साथ उनीहरुले बकुलहरलाई मुख्य कार्यालय मानेर चितवनका विभिन्न क्षेत्रमा सुपरमार्केट सञ्चालन गर्ने तयारी गरिरहेका छन् । सौराहाका होटल सञ्चालक समय समयमा हुने व्यावसायिक उतारचढावका कारण समस्यामा पर्दै आएका छन् । भूकम्प, नाकाबन्दी, कोभिड–१९ लगायतले पर्यटन व्यवसाय प्रभावित हुने गरेको छ । रासस

पर्यटक आउन छाडेपछि कर्मचारीलाई बिदा दिंदै सौराहाका होटल व्यवसायी

माघ १७, चितवन । कोभिडको तेस्रो लहरसँगै यहाँका होटलमा पर्यटक आउन छाडेपछि व्यवसायीले मजदूर कर्मचारीलाई बिदा दिन थालेका छन् ।  सरकारले कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नगर्न आदेश गरेपछि होटलहरूमा बुक भएका कार्यक्रम स्थगित भएका छन् । सौराहाका होटलमा नयाँ वर्षसँगै गोष्ठी, सेमिनार, विवाहाका कार्यक्रम धेरै बुकिङ भएका थिए । घुम्न आउने पर्यटकको बुकिङ पनि राम्रो थियो । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार कोभिडका कारण अधिकांश कार्यक्रम र पर्यटकका बुकिङ रद्ध भएका छन् । उनले भने, ‘अहिले होटलमा एक/दुई ओटा कोठा मात्र बुकिङ हुने गरेका छन् ।’ कतिदिन यसरी धान्ने भनेर होटल सञ्चालकहरूले मजदूर एवम् कर्मचारीलाई आलोपालो बिदा दिन थालेको उनले बताए । आफ्नो होटलमा १६ जना कर्मचारी रहेकामा अहिले तीन जना बाहेकलाई बिदामा पठाएको उनले जानकारी दिए । १५ दिनपछि अरु तीन जना आउने र अहिले रहेकालाई बिदा दिने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ । पाहुँना नहुँदा कर्मचारी र मजदूर पाल्न कठिन भएको व्यवसायीको भनाइ छ । भूकम्प, नाकाबन्दी हुँदै कोभिडसम्म आइपुग्दा सौराहाको पर्यटन व्यवसाय निकै प्रभावित भएको छ । युनिक वाइल्डलाइफ रिसोर्टका सञ्चालक गुणराज थपलिया खोल्नुभन्दा पूरै केही समयका लागि बन्द गर्दा व्यवसायीलाई राहात मिल्ने बताउँछन् । उनले भने, ‘एउटा दुई वटा कोठा बेचेर कसरी खर्च धान्ने ? न खोलेर पर्यटक आउँछन्, न बन्द गर्न पाइएको छ ?’ कर्मचारी मजदूर पाल्न नै समस्या भएको क्षेत्रीय होटल संघ चितवनका महासचिवसमेत रहेका थपलियाको गुनासो छ । कोभिडसँगै सौराहा क्षेत्र सुनसान बनेको छ । जंगल सफारी लजका सञ्चालक सुमन घिमिरे कोभिडका कारण व्यवसायी निकै मर्कामा परेको बताउँछन् । होटलमा मजदूर कर्मचारी पाल्न र दैनिकी चलाउनसमेत व्यवसायीलाई समस्या हुन थालेको उनको भनाइ छ । बुकिङ भएका कार्यक्रम रद्द हुँदा ठूलो नोक्सानी व्यहोर्नु परेको घिमिरेले जानकारी दिए । सरकारले २५ जनाभन्दा बढीको उपस्थितिमा कार्यक्रम गर्न लगाएको रोक फिर्ता नभएसम्म कार्यक्रम हुननसक्ने घिमिरेको भनाइ छ । होटल जंगल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरी धेरै कार्यक्रम रद्ध हुँदा ठूलो नोक्सान भएको बताउँछन् । जनवरीमा चार ओटा र फेब्रुअरीमा ६ ओटा विवाह बुकिङ भए पनि अधिकांश स्थगन भएको उनले जानकारी दिए । पर्यटक र कार्यक्रम नहुँदा मजदूर कर्मचारी पाल्न कठिन भएको गिरीको भनाइ छ । उनले भने, ‘अलि -अलि व्यवसाय होला जस्तो हुन्छ, समस्या आइहाल्छ ।’ यसले गर्दा पर्यटन क्षेत्र प्रभावित बनेको गिरी बताउँछन् । सौराहामा १२० होटल रहेका छन् । ती होटलमा पाँच हजार पाँच सयसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको छ । पछिल्ला वर्षमा होटलमा ठूलो लगानी भएको व्यवसायी बताउँछन् । रासस

नगरकोटमा होटल–पर्यटन तङ्ग्रिने अपेक्षा

काभ्रेपलाञ्चोक । पर्यटकीय क्षेत्र नगरकोटका होटल व्यवसायीले कोरोनाविरुद्धको खोप लगाएका छन् । होटल व्यवसायी, होटल कर्मचारी र मजदूर तथा स्थानीय ६०० ले कोरोनाविरुद्धको खोप लगाएको नगरकोट–नाल्दुम पर्यटन विकास समितिले जनाएको छ ।

लकडाउनको विरोधमा धरानका स्थानीय

भदौ २, धरान । कोरोना संक्रमितसँगै मृतकको संख्यामा समेत वृद्धि हुँदै गएपछि चेनब्रेक गर्ने भन्दै धरान उपमहानगरपालिकाले १० दिन लकडाउन गर्ने निर्णयको विरोध गर्दै स्थानीयहरु मेयर विरुद्ध खनिएका छन् ।  राजनीतिक दलको दबाबमा मेयर तिलक राईको लकडाउन गर्ने निर्णय विरुद्ध स्थानीयले ‘लकडाउन गर्न पाइदैन, यस्तो मेयर चाहिदैन’ भन्दै बुधवार नाराबाजी गरेका हुन् ।  लकडाउन गर्ने निर्णयलाई जिल्ला प्रशासन कार्यालय सुनसरीको डिडिएमसिले पनि सदर गरिदिए पछि धरान उपमहानगरपालिकाले पूर्ण लकडाउनलाई सहयोग गर्न आग्रह सहितको माइकिङ, विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल मार्फत सूचना जारी गरेको छ । तर, धरानका होटल व्यवसायी, यातायात मजदूर, व्यापारी व्यवसायीहरुले भने लकडाउनको विकल्प खोज्नुपर्ने भन्दै धरानमा विरोधसभाको आयोजना नै गरेका छन् ।  उनीहरुले ‘अव्यवस्थित लकडाउन विरुद्धको अभियान धरान’ गठन गरेर आन्दोलनमा उत्रिएका हुन् । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका स्थानीयले ‘कि त गरिखानेलाई गरिखान देउ, विष खान र पासो लगाउन बाध्य नपार’ जस्ता नारा लगाएका थिए ।  अभियानका संयोजक हरि श्रेष्ठले विगतमा गरिएका लकडाउन पनि विकल्प बिना गरिएकाले कुनै उपलव्धीमूलक नभएको बरु उल्टै मजदूर तथा व्यापारी व्यवसायीहरु मारमा परेको बताए । उनले भने, ‘विगतको जस्तो लकडाउन हो भने लकडाउन गर्नुको कुनै औचित्य छैन, लकडाउनको विकल्प खोजिनुपर्छ ।’ उनले विगतमा लकडाउनमा व्यापारीले घरभाडा तिर्न नसकेको, बैंकको ऋणको व्याज तिर्न नसकेको, यातायात व्यवसायीले बिहान बेलुका छाक टार्न नै धौ धौ भएको बताए ।  उनले भने, ‘हामी लकडाउनको विरोधी होइनौं, लकडाउन नै गर्ने हो भने व्यापारीहरुको घरभाडा छूटदेखि लिएर कर छूट हुनुपर्ने, लकडाउन अवधिभर मजदूरको रोजीरोटीको व्यवस्था गर्नुपर्ने लगायतका कुराहरुमा स्थानीय सरकारले छूट गर्नुपर्छ, अनिमात्र लकडाउन गर्नुपर्छ ।’   यता यातायात मजदूर विनय पोख्रेलले विगतमा सबै क्षेत्र खुल्ला हुँदा लामो समयसम्म यातायात नखुल्दा मजदूरहरु मारमा परेको बताए । उनले भने, ‘हुनेखानेलाई लकडाउनले केही असर गर्दैन तर हामीजस्ता मजदूरको जीवनयापन गर्न नै कठीन हुन्छ ।’ विगतकै जस्तो लकडाउन हो भने नगर्दा राम्रो हुने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले बताए । उनले भने, ‘लकडाउन पूर्ण रुपमा हुनुपर्छ, व्यापारी, व्यवायीलाई सहुलियत हुने खालका प्याकेज ल्याउनुपर्छ अनि मात्र लकडाउन गर्नुपर्छ ।’ छलफलकै समयमा लकडाउनको विरोध गरेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सापकोटाले भने, ‘व्यवस्थित ढंगबाट लकडाउन गर्ने हो भने हामी पूर्ण सहयोग गर्छौ ।’ गत सोमवार लकडाउनको चेनब्रेक गर्ने उद्देश्यले धरान उपमहानगरपालिकामा जिल्ला सुरक्षा समन्वय समितिको संयोजक प्रमुख जिल्ला अधिकारी उमेश ढकालको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा लकडाउनको विकल्न खोजिनु पर्ने व्यापारी व्यवासायीले माग गरेपछि बिना निष्कर्ष बैठक सकिएको थियो । पुनः धरान उपमहानगरपालिका सर्वदलिय, सर्वपक्षिय बैठकबाट व्यवपारी व्यवसायीको विरोधको बाबजुद शुक्रवारदेखि लकडाउन गर्ने सिफारिस गर्ने निर्णय गरेको थियो ।   लकडाउनको चौतर्फी विरोध भइरहँदा धरान उपमहानगरपालिकाले भने बाध्यात्मक परिस्थितिमा लकडाउन गर्नु परेको बताएको छ । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले कोरोनोको ग्राफसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएकाले बाध्य भएर लकडाउन गर्नुपरेको बताइन् । उनले भनिन्, ‘हामीले चाहेर लकडाउन गरेका हैनौ सबैको छलफल पश्चात यो निर्णयमा पुगेका हौ, यसमा विरोधभन्दा पनि सहयोग गरेर लकडाउनको पूर्ण पालना गर्नु नै अहिलेको अवस्थामा उचित छ ।’