महँगी नियन्त्रण गर्न श्रीलंकाले दोब्बर बनायो ब्याजदर

चैत २६, कोलम्बो (श्रीलंका) । श्रीलंकाको केन्द्रीय बैंकले प्रमुख ब्याजदर अकल्पनीय स्तरमा बढाएको छ । बैंकले शुक्रवार मुद्रस्फीति नियन्त्रण गर्न ब्याजदर ७ प्रतिशतले बढाएर १४ दशमलव ५ प्रतिशतमा पुरयाएको हो ।  एक महीनाको अवधिमा अमेरिकी डलरको तुलनामा श्रीलंकाली मुद्रा रुपीको भाउ ३५ प्रतिशत घटेकै समयमा बैंकले यो अप्रत्याशित कदम चालेको हो । यो कदमले रुपीको भाउ स्थीर हुने अपेक्षा गरेको बैंकका नवनियुक्त गभर्नर नन्दलाल विरासिंघेले बताएका छन् । बैंकले निक्षेप दर पनि ७ प्रतिशतले नै बढाएर साढे १३ प्रतिशतमा ल्याएको छ ।  पछिल्लो समय उत्पन्न चरम आर्थिक संकटबीच आधारभूत वस्तुकै अभाव चुलिएको समयमा यस्तो कदम चालिएको हो । मार्चमा श्रीलंकामा महँगी १८ दशमलव ७ प्रतिशतले बढेको केन्द्र बैंकको आँकडाले देखाएको छ । खानपिनको सामानको भाउ २५ प्रतिशतभन्दा धेरैले बढेका थिए । सो अवधिमा महँगी ५० प्रतिशत रहेको हुन सक्ने निजी क्षेत्रले अनुमान गरेको छ ।  अहिले श्रीलंकाको विदेशी विनिमय सञ्चिति घटेर १ अर्ब डलरभन्दा तल झरेको छ । गोताबाया राजापाक्ष नेतृत्वको सरकारलाई आम जनताको दैनिक आधारभूत आवश्यकता पूरा गर्न नै सकस भइरहेको छ । विदेशी विनिमय सञ्चितिको चरम अभावबीच खाद्यान्न, इन्धन, ऊर्जा र ग्यासको चरम अभाव छ । पछिल्लो संकट समाधान गर्न सरकारले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्ता गर्ने तयारी गरिरहेको छ भने मित्र देशहरुसँग आर्थिक सहायता पनि मागिरहेको छ । वित्तीय अव्यवस्थापन, गलत समयमा गरिएको कर कटौतीकाकारण श्रीलंकाली अर्थतन्त्रले यस अघि कहिले नदेखिएको आर्थिक संकटको सामना गरेको हो । वर्षौसम्म सरकारले अन्तरराष्ट्रिय वित्त बजारबाट जथाभावी कर्जा उठाएको अनि विदेशी विनिमय सन्तुलित राख्न नसक्दाको परिणति अहिले सम्पूर्ण जनताले चुकाइरहेका छन् । एजेन्सी  

सम्बन्धित सामग्री

८ दिनमा चीनले तेस्रो पटक घटायो ब्याजदर

काठमाडौं । चीनको केन्द्रीय बैंकले मंगलवार फेरि ब्याजदर घटाएको छ । कोभिडसम्बन्धी नियन्त्रण खुकुलो बनाउँदा पनि सुस्ताइरहेको अर्थतन्त्रलाई टेवा दिन ‘पिपुल्स बैंक अफ चाइना’ (पीबीओसी)ले दुईओटा बेञ्चमार्क ब्याजदर घटाएको हो ।  गत मंगलवार र बिहीवार गरेर पीबीओसीले दुई पटक ब्याजदर कम गरेको थियो अनि वित्तीय बजारमा अर्बौं युयान खन्याएको थियो । अहिले चीन अनि अमेरिका र अन्य पश्चिमी देशहरू मौद्रिक नीतिको मामिलामा विपरीत धुव्रमा छन् । महँगी नियन्त्रण र वित्तीय बजारमा पैसाको आपूर्ति कसिलो बनाउन शृङ्खलाबद्ध रूपमा ब्याजदर बढाएका थिए ।  मंगलवार एक वर्षे कर्जा प्राइम दर (एलपीआर) ३ दशमलव ६५ प्रतिशतबाट घटाएर ३ दशमलव ५५ प्रतिशतमा झारिएको पीबीओसीले बताएको छ । पाँच वर्षे एलपीआर दर पनि ४ दशमलव ३ प्रतिशतबाट घटाएर ४ दशमलव २ प्रतिशतमा झारिएको छ ।  अधिकारीहरूले गएको बिहीवार मध्यम अवधिको कर्जा सुविधा १० आधार बिन्दुले घटाउँदै २ दशमलव ६५ प्रतिशतमा ल्याएको थियो । बैंकहरूलाई मध्यम अवधिका कर्जा सुविधामार्फत २ खर्ब ३७ अर्ब युआन दिने पीबीओसीले भनेको छ । हालैका हप्तामा चीनमा एक पछि अर्को गर्दै कमजोर आर्थिक तथ्यांकहरू सार्वजनिक भइरहेका छन् । मेमा युवा बेरोजगारी दर २० दशमलव ८ प्रतिशतको कीर्तिमानी स्तरमा उक्लिएको छ । फेब्रुअरीयता पहिलो पटक निर्यात खुम्चिएको छ । शीर्ष अर्थशास्त्री र सरकारका आर्थिक सल्लाहकार लिउ युआनछुनले गएको महीना साना तथा मझौला आकारका व्यवसायहरूमाथिको आर्थिक भार कम गर्न कर्जाको लागत कम गर्न  नियामकहरूलाई अनुरोध गरेका थिए । चीनले अर्थतन्त्रको विविध क्षेत्रलाई लक्षित गरेर स्टिमुलसका उपायहरू घोषणा गर्ने खबरहरू आइरहेका छन् । यो महीना चीनको ६ ठूला सरकारी वाणिज्य बैंकहरूले खपत बढाउनका लागि बचतकर्ताहरूले निक्षेपमा पाउने ब्याजदर घटाएका थिए । तर, ब्याजदर घटाएर मात्रै घरपरिवार र कम्पनीहरूको ऋण र खर्च बढ्न नदेखिएको विश्लेषण गरिएको छ । सरकारी कम्पनीहरूलाई नै प्रत्यक्षरूपमा थप खर्च गर्न लगाउनु पर्ने क्यापिटल इकोनोमिक्सका अर्थशास्त्रीहरूले गएको हप्ता एउटा नोटमा भनेका थिए । कर्जामा चुर्लुम्म डुबेको घरजग्गा बजार उकासिन सकेको छैन । यस्तोमा सरकारले संघर्षरत् क्षेत्रहरूलाई लक्षित गरेर उपायहरू ल्यायो भने केही असर देखिएला कि ? एजेन्सी

ब्याजदर वृद्धिको कहर : न्यूजिल्यान्डको अर्थतन्त्र मन्दीमा

काठमाडौं । न्यूजिल्यान्डको अर्थतन्त्र आर्थिक मन्दीमा गएको छ । महँगी नियन्त्रण गर्न त्यहाँको केन्द्रीय बैंकले ब्याजदरलाई बढाएर १४ वर्षकै उत्कर्षमा पुर्‍याएपछि अर्थतन्त्र मन्दीमा फसेको हो । सन् २०२३ को पहिलो तीन महीनामा अर्थतन्त्र शून्य दशमलव १ प्रतिशत खुम्चिएको छ । अघिल्लो त्रैमासमा पनि अर्थतन्त्र शून्य दशमलव ७ प्रतिशतले घटेको थियो । कुनै पनि अर्थतन्त्र लगातार दुई त्रैमाससम्म खुम्चियो भने त्यसलाई आर्थिक मन्दी भनिन्छ । सन् २०२१ को अक्टोबरयता रिजर्भ बैंक अफ न्यूजिल्यान्डले ब्याजदर बढाउन शुरु गरेको थियो । कोरोना भाइरसको महामारीमै ब्याजदर बढाउन शुरु गर्ने न्यूजिल्यान्ड विश्वको पहिलो देश थियो । गएको महीनाको वृद्धिपछि ब्याजदर साढे ५ प्रतिशतमा उक्लिएको छ । कोभिडकै बेलामा न्यूजिल्यान्डमा महँगी थियो । ब्याजदरमा भएको वृद्धिका कारण धितो कर्जाको भुक्तानी महँगो बनेको छ भने अन्य खालको कर्जाको ब्याजदर पनि बढेको छ । ब्याजदर बढेपछि पैसा बचाउन स्टार्टअपहरूले धमाधम कर्मचारी निकाल्न थालेका छन् । विश्वभर केन्द्रीय बैंकहरूले मूल्य वृद्धिमाथि अंकुश लगाउन धमाधम ब्याजदर बढाएका थिए । युक्रेनी युद्धका कारण इनधनदेखि खाद्यान्नसम्मको भाउ बढ्दा पनि महँगी चुलिएको थियो । पहिलो त्रैमासमा समुद्र आँधि अनि शिक्षकहरूको हड्तालको कारण पनि पहिलो त्रैमासमा न्यूजिल्यान्डको अर्थतन्त्र प्रभावित बनेको थियो । अर्थतन्त्र मन्दीमा गएपछि अब भने न्यूजिल्यान्डको केन्द्रीय बैंकले ब्याजदर बढाउन बन्द गर्ने आशा बढेको छ । एजेन्सी

बेलायतमा महँगी घटेर १०.५ प्रतिशतमा झर्यो, खानेकुराको भाउ बढ्ने क्रम भने रोकिएन

काठमाडौं । गएको महीना बेलायतमा मुद्रास्फीति घटेको छ । अक्टोबरमा ४१ वर्षयताकै उच्च स्तरमा उक्लिएको महँगी डिसेम्बरमा भने थोरैले घटेको हो । यसले महँगी नियन्त्रण गर्न हर सम्भव प्रयास गरिरहेको बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ (बीओई)लाई केही राहत मिल्ने देखिन्छ । तर खाद्यान्न र पेय पदार्थको भाउ सन् १९७७ यताकै तीव्र गतिमा बढेकोले घर परिवार माथिको दबाब उग्र छ । नोभेम्बरमा १० दशमलव ७ प्रतिशत रहेको वार्षिक उपभोक्ता मूल्य सूचकमा आधारित मुद्रास्फीति गएको महीना १० दशमलव ५ प्रतिशतमा ओर्लिएको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । योसँगै लगातार दोस्रो महीना पनि महँगी घटेको छ । तर यो अझैं  पनि ४० वर्षकै उचाईमा छ ।  समीक्षा अवधिमा मुद्रास्फीतिमा आएको कमी अर्थशास्त्रीहरुले गरेको अनुमान अनुसार कै हो । एक वर्ष अघिको तुलनामा खानेकुरा र गैर–अल्कोहलिक पेय पदार्थको भाउ १६ दशमलव ८ प्रतिशतले बढेको छ । यो वृद्धि सन् १९७७ यताकै उच्च हो । सो अवधिमा अन्डा, दूध र चिजको भाउमा आएको वृद्धिक कारण समग्रम खाद्यान्नको भाउ बढेको छ । समीक्षा अवधिमा चिनि, जाम, मह र चकलेटको साथै हलुका पेय र जुसको भाउ पनि बढेको छ । तर पाउरोटी र अन्नको मूल्य वृद्धि भने सुस्त भएको छ ।  नोभेम्बरमा नै बीओईले हेडलाइन सीपीआई अक्टोबरको ११ दशमलव १ प्रतिशतबाट घटेर यो वर्षको अन्त्यसम्ममा ५ प्रतिशतमा आउने बताएको थियो । रुसले युक्रेनमा आक्रमण गरेयता विश्वभर महँगी बढ्दा बेलायतमा पनि करोडौं मानिसहरुको लागि जीवनयापन धौं धौं बनेको छ ।  बीओईले यो वर्ष महँगी घट्ने प्रक्षेपण  गरेको भएपनि नीतिनिर्मातहरुले भने कसिलो श्रम बजार र अन्य कारकहरुतर्फ औंल्याउँदै महँगी उभोतिर लाग्ने दबाब निरन्तर रहने चेतावनी दिएका छन् । बीओईले फेब्रुअरी ३ मा ब्याजदर साढे ३ प्रतिशतबाट बढाएर ४ प्रतिशतमा पुर्याउने अनुमान गरिएको छ । यो डेटा सार्वजनिक भएपछि डलरको तुलनामा स्टर्लिङको भाउ बढेको थियो । डिसेम्बरमा बेलायतको मुद्रस्फीति अमेरिका र बेलायतको भन्दा कम हो । सो अवधिमा अमेरिकामा मुद्रास्फीति साढे ६ प्रतिशत थियो भने जर्मनीमा ९ दशमलव ६ प्रतिशत । रुसले युक्रेनमा आक्रमण गरेलगत्तैको तुलनामा अहिले प्राकृतिक ग्यासको भाउ घटेको छ । तर पनि यो २०२१ को मध्यतिरको भन्दा कयौं गुणा बढी छ । यसको प्रभाव समग्र अर्थतन्त्रभर पोखिने क्रम जारी छ । डिसेम्बरमा कोर सीपीआई भने ६ दशमलव ३ प्रतिशतमा यथावत् छ । कोर सीपीआईमा ऊर्जा, खाद्यान्न, रक्सी र सूर्तिको मूल्यलाई समावेश गरिएको हुन्न । कोर सीपीआई गत महीना ६ दशमलव २ प्रतिशतमा झर्ने अर्थशास्त्रीहरुको अनुमान थियो । सेवा क्षेत्रमा पनि महँगी सन् १९९२ का मार्चयताकै उच्च अर्थात् ६ दशमलव ८ प्रतिशत छ ।  एजेन्सी

बढ्दो ब्याजदरले ‘महँगी’ र ‘मन्दी’बाट कसरी जोगाउँछ ?

नेपाल बैंकर्स एसोसिएशन (एनबीए)ले कात्तिक महिनादेखि कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्याउने गरी निर्णय गरेको छ । यसका लागि एसोसिएशनले बेस रेट र प्रिमियमलाई बढाएको छ । केन्द्रीय बैंकबाट ‘ग्रिन सिग्नल’ पाएपछि वाणिज्य बैंकहरूले निरन्तर ब्याजदर बढाइरहेका छन् । बैंकर र केन्द्रीय बैंकले देशको अर्थतन्त्रलाई मन्दीबाट जोगाउनकै लागि ब्याजदर बढाइरहेको बताइरहेका छन् ।अमेरिकाले महँगी नियन्त्रण र आर्थिक मन्दीबाट बच्न भन्दै ब्याजदर बढाएपछि विश्वभरका देशहरूले धमाधम ब्याजदर बढाइरहेका छन् । अमेरिकाबाट

महँगी नियन्त्रण गर्ने लक्ष्यका साथ अमेरिकामा २८ वर्षयताकै उच्च ब्याजदर वृद्धि

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्ब(फेड)ले बढ्दो महँगी नियन्त्रण गर्नको लागि २८ वर्ष यताकै धेरै अर्थात ०.७५ प्रतिशतले व्याज दर वृद्धि गरेको छ । लामो समयमा यो कदमले महँगी घटाउने भए पनि केही महिनाभित्र भने अर्थतन्त्रमा सुस्तता ल्याउने र बेरोजगारी बढाउने प्रक्षेपण गरिएको छ । यसअघि लिइएका कदमले महँगी नियन्त्रणमा न्युन सफलता हासिल भएको पछिल्लो तथ्याकंले देखाएपछि बुधबार फेडले व्याज दर वृद्धिको घोषणा गरेको हो । अब बैंकबाट ऋण लिँदा महँगो पर्नेछ । अमेरिकी कंग्रेसको मध्यावधि चुनाव नज

अमेरिकामा फेड अध्यक्षको रुपमा पावेलको दोस्रो कार्यकाललाई मञ्जुरी

वाशिङटन डीसी (अमेरिका) । अमेरिकाको संसदले केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (फेड)का अध्यक्ष जेरोम पावेललाई  दोस्रो कार्यकाल पनि अध्यक्ष राख्ने प्रस्तावमा मञ्जुरी दिएको छ ।  पछिल्लो समय अमेरिकामा महँगी ४० वर्षयताकै उच्च स्तरमा उक्लिएको छ । महँगीका कारण अर्थतन्त्र मन्दीमा जान सक्ने अथवा आउन नदिने जिम्मा सहित पावेललाई सो जिम्मा दिइएको हो ।  पावेलले सन् २०१८ मा फेडको अध्यक्षको पहिलो कार्यभार शुरु गरेका थिए । उनको दोस्रो कार्यकालको पक्षमा सिनेटमा भएको मतदानमा ८० मत आएको थियो भने विपक्षमा १९ मत परेको थियो ।  यो महीनाको शुरुमा फेडले शून्य दशमलव ५०  प्रतिशतले ब्याजदर बढाउने निर्णय गरेको थियो । यो २० वर्षयताकै उच्च वृद्धि थियो । कोरोना भाइरसको महामारीका कारण आपूर्ति चक्रमा देखिएको समस्या र रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभर महँगी बढेको छ ।  यस्तोमा अमेरिकामा पनि महँगी आकाशिएको छ । पछिल्लो समय फेडलाई महँगी नियन्त्रण कसरी गर्ने भन्ने टाउको दुखाई बनेको छ । महँगी नियन्त्रण गर्न फेडले यो वर्षभर धमाधम ब्याजदर बढाउने अपेक्षा गरिएको छ ।  पावेलको पहिलो कार्यकाल फेब्रुअरीमै सकिएको थियो । उनको दोस्रो कार्यकालको पुनः पूष्टि प्रक्रिया रिपब्लिकनहरुले रोकेपछि त्यसयता पावेलले कायमुकायम अध्यक्षको रुपमा काम गरिरहेका थिए ।  एजेन्सी

अष्ट्रेलियाले १० वर्षमा पहिलो पटक बढायो ब्याजदर, महँगी २० वर्षयताकै उच्च

सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको केन्द्रीय बैंकले एक दशकभन्दा बढी समयमा पहिलो पटक ब्याजदर बढाएको छ । रिजर्ब बैंक अफ अष्ट्रेलिया (आरबीए)ले मंगलबार ब्याजदर बढाएर शून्य दशमलव ३५ प्रतिशतमा पुर्याएको छ । देशभरमा महँगी बढेर २ दशकभन्दा बढी समययताकै उच्च स्तरमा उक्लिएको छ । आकाशिएको महँगी नियन्त्रण गर्न बैंकले ब्याजदर वृद्धिको साहारा लिएको हो ।  यसले घरपरिवारको बजेटमाथि थप दबाब सृजना हुने छ । महँगी अपेक्षा गरिएभन्दा तीव्र दरमा बढेको भएपनि बेरोजगारी दर न्यून रहेको र तलब वृद्धिमा सुधार आएको प्रमाण देखिएको आरबीएका गभर्नर फिलिपि लोवेले बताए । कोरोना भाइरसको महामारीको समयमा अष्ट्रेलियाली अर्थतन्त्रलाई टेवा दिन अपनाइएको असाधारण मौद्रिक नीतिमध्ये केहीबाट हात झिक्ने समय अहिले भएको उनले विज्ञप्तिमा भनेका छन् ।  अष्ट्रेलियाली अर्थतन्त्रको परिदृश्य सकारात्मक रहेको भएपनि आगामी दिनमा थप ब्याजदर वृद्धि हुने संकेत उनले गरेका छन् । अहिले अष्ट्रेलियाले निर्वाचनको तयारी गरिरहेको छ । यसअघि निर्वाचनको अभियान चलेकै समयमा सन् २००७ मा पनि ब्याजदर बढाइएको थियो । अष्ट्रेलियामा महँगी ५ दशमलव १ प्रतिशतमा उक्लिएको छ । यो २१ वर्षयताकै उच्च हो । पछिल्लो समय विश्वभर खाने तेल देखि कच्चा तेलसम्म सबै कुरा महँगिएका छन् । महँगी नियन्त्रण गर्न अमेरिका, बेलायत लगायत अधिकांश ठूला अर्थतन्त्रका केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहेका छन् ।

फेडको ब्याजदर वृद्धिको प्रभाव : आकाशियो एशियाली शेयर बजार

चैत ३, टोकियो । एशियाली शेयर बजारमा बिहीवार हरियाली छाएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले अघिल्लो दिन ब्याजदर बढाएपछि बुधवारको कारोबारमा अमेरिकी शेयर बजारमा हरियाली छाएको थियो । बिहीवार सोको प्रभाव एशिया क्षेत्रका शेयर बजारमा देखिएको हो । बुधवार बजार बन्द हुँदा नाष्डाक करीब ४ प्रतिशतले बढेको थियो । एसएण्डपी५०० चाहीं २ प्रतिशतभन्दा धेरै माथि आएर बन्द भएको थियो । दाउ जोन्समा पनि साढे १ प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको थियो ।  फेड कोभिडका कारण खुकुलो बनाएको मौद्रिक नीति धमाधम कसिलो बनाउने बाटोमा छ ।  उक्त दिन बजार बन्द हुँदा जापानमा निक्केई २२५ परिसूचक ३ दशमलव ४६ प्रतिशतले बढेर २ हप्तायताकै उच्च स्तरमा उक्लिएको थियो । दक्षिण कोरियामा पनि कोस्पी  परिसूचक १ दशमलव ३३ प्रतिशतले बढेको थियो । अष्ट्रेलियामा एएसएक्स २०० १ दशमलव ४ प्रतिशतले बढेको थियो ।  हङकङमा हाङशेङ परिसूचक ७ दशमलव शून्य ४ प्रतिशतमाथि आएर बन्द हुँदा चीनमा साङ्हाई कम्पोजिटमा १ दशमलव ५ प्रतिशतको वृद्धि देखिएको थियो । भारत, सिंगापुर, थाइल्यान्डलगायतका बजार पनि हरियालीमै आएर बन्द भएका थिए ।  अमेरिकामा शेयर बजार बिहिवार पनि बढ्ने शेयर फयूचर्सले देखाएका छन् । फेडले महँगी नियन्त्रण गर्न ब्याजदर आक्रामक रुपमा बढाउने भनेपनि ब्याजदर वृद्धिको प्रभावलाई सहन अर्थतन्त्र पर्याप्त रुपमा मजबूत रहेको फेड अध्यक्षले बताएपछि शेयर बजार सुदृढ रहेको हो ।  रुस र युक्रेन बीच युद्धविरामसम्बन्धी वार्तामा आशा जाग्दा पनि लगानीकर्ताहरु जोखिमयुक्त सम्पत्तिप्रति आकर्षण बढ्दा शेयर बजारले टेवा पाएको हो । लगानीकर्ताका मनोबल सुधार आएको भएपनि डलरको भाउ भने बढ्न सकेको छैन । ब्याजदर वृद्धि विश्लेषकहरुले गरेको अपेक्षा अनुरुप भएकोले पनि डलर बढ्न सकेन । यस वर्ष फेडले ब्याजदर ६ पटकसम्म बढाउने देखिएको छ । कमोडिटिज बजारमा बिहिबार कच्चा तेलको भाउ बढेका छन् । सुनमा पनि वृद्धि देखिएको छ । चाँदि, तामा, प्लाटिनमलगायत कमोडिजिट पनि हरियालीमा छन् ।  एजेन्सी