महँगी बढेपछि विश्वभर ब्याजदर बढाउने होडबाजी, महँगी नियन्त्रण गर्ने अन्तिम उपाय ब्याजदर वृद्धि नै हो त ?

वैशाख २६, काठमाडौं । पछिल्लो समय विश्वभर महँगी बढेको छ । अमेरिका, बेलायतलगायत विकसित अर्थतन्त्रदेखि भारत, टर्की जस्ता उदीयमान अर्थतन्त्र र नेपाल जस्ता विकासोन्मुख देश सबैतिर महँगीको राप छ । विश्वका अधिकांश प्रमुख अर्थतन्त्रको टाउको दुखाइको विषय अनियन्त्रित बन्दै गइरहेको महँगीमा लगाम कसरी कस्ने भन्ने छ । कयौं देशहरुले दशकौं यताकै खराब महँगी सामना गरिरहेका छन् ।  रुसले युक्रेनमाथि हमला गरेयता इन्धनको भाउमा भएको वृद्धिका कारण परिवहनदेखि आपूर्ति शृङ्खला सबै महँगिएको छ । खाने तेलको साथसाथै अन्नसमेत सबै खाद्य वस्तु महँगो भएको छ । यस्तोमा घरपरिवारको क्रय क्षमता खुम्चिएको छ । युक्रेनमाथि रुसले हमला गर्नुअघि नै कोरोना भाइरसको महामारीका कारण आपूर्ति मागबीचको असन्तुलन र महामारीको समयमा ल्याइएको टेवा नीतिका कारण माग बढ्दा विश्वका कयौं देशमा उपभोक्ता मूल्य वृद्धि कीर्तिमानी स्तर नजिक पुगिसकेका थिए ।  युक्रेनमाथिको हमलाले यसमा आगोमा घ्यूँको काम गर्यो । चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न पछिल्लो समय गरेको लकडाउनले विश्वको आपूर्ति शृङ्खला झनै बिग्रिएको छ भने महँगी फेरि बढेको छ । महँगी नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले ब्याजदर वृद्धिको साहरा लिइरहेका छन् । मार्चमा वार्षिक महँगी ४० वर्षयताकै उच्च स्तरमा उक्लिएपछि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ ‘फेड’ ले गएको हप्ता प्रमुख ब्याजदर आधा प्रतिशत अंकले बढाएको थियो । फेडले ब्याजदरमा गरेको यो दुई दशकयताकै उच्च वृद्धि हो ।  सन् २०२२ को पहिलो त्रैमासमा अमेरिकी अर्थतन्त्र १ दशमलव ४ प्रतिशतले खुम्चिएको थियो । यो वर्ष अमेरिकी अर्थतन्त्र खुम्चिने १० मध्ये ८ साना व्यवसायहरुले गरेको सीएनबीसीले साना व्यवसायहरु माझ गरेको एउटा सर्वेक्षणले देखाएको थियो । केही विज्ञहरुले आर्थिक मन्दी आउँदै गरेको बताएका छन् । तर केहीले भने महँगी बढेपनि व्यक्तिगत खर्चमा तीव्र वृद्धि हुने र दोस्रो त्रैमासमा अर्थतन्त्रमा सुदृढ वृद्धि आउने बताएका छन् । बैंक अफ इंगल्यान्ड (बीओई) ले शुक्रवार बेलायती अर्थतन्त्र मन्दीतर्फ गइरहेको र यो वर्ष मुद्रास्फीति १० प्रतिशत माथि पुग्न सक्ने चेतावनी दिएको छ । सोही दिन बैंकले ब्याजदर पनि १ प्रतिशतले बढाएर सन् २००९ यताकै उच्च स्तरमा पुर्‍याएको छ । बैंकले अहिले २५ वर्षयता कहिले नदेखेको चुनौती सामना गरिरहेको छ । गएको हप्ता अष्ट्रेलियामा पनि केन्द्रीय बैंकले सन् २०१० यता पहिलो पटक ब्याजदर शून्य दशमलव ३५ प्रतिशतले बढाएको थियो । महँगी अपेक्षाकृत उच्च स्तरमा पुगेपछि बैंकले सो कदम चालेको थियो । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीाई) ले बुधवार अप्रत्याशित रुपमा ब्याजदर बढाएको थियो । विगत तीन त्रैमासदेखि बढिरहेको महँगी नियन्त्रण गर्न आरबीआईले ब्याजदर बढाउने घोषणा गरेको थियो । यो वर्ष भारतमा महँगी ६ प्रतिशतभन्दा माथि नै रहने देखिएको छ । महँगी नियन्त्रण गर्न हालैका महीनाहरुमा सिंगापुर, दक्षिण कोरिया, लगायत कयौं देशका केन्द्रीय बैंकले ब्याजदर बढाएका थिए । विश्वका अधिकांश क्षेत्रमा महँगी बढिरहेको भएपनि चीनमा भने महँगी तुलनात्मक रुपमा नियन्त्रित अवस्थामा रहँदै आएको छ । मार्चमा १ दशमलव ५ प्रतिशत रहेको महँगी अप्रिलमा २ दशमलव १ प्रतिशतमा पुगेको छ । के होला असर ? अमेरिकालगायत विश्वका प्रमुख केन्द्रीय बैंकहरुले ब्याजदर बढाउँदा यसको प्रभाव त्यहाँका उपभोक्ता र व्यवसायहरुमाथि मात्रै पर्दैन । यसको प्रभाव प्रत्यक्ष र परोक्ष रुपमा विश्वभर पोखिन्छ । कर्जाको दर बढ्नेदेखि मुद्राको अवमूल्यनसम्मका अवस्था उत्पन्न हुन्छन् । यसले विशेष गरी सबै खाले विकासोन्मुख अर्थतन्त्रलाई प्रभावित बनाउँछ । गत महीना बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिष्टिलिना जर्जिभाले फेड र ब्याजदर बढाइरहेको अन्य केन्द्रीय बैंकहरुलाई ब्याजदर वृद्धिको प्रभाव उदीयमान र विकासशोन्मुख अर्थतन्त्रमा पोखिने जोखिमबारे सावधान रहन भनेकी थिइन् । अमेरिकाको ब्याजदर वृद्धिको असर कयौं रुपमा देखिन्छ । पहिलो त अमेरिकी अर्थतन्त्र सुस्ताउँछ भने विदेशी वस्तु प्रति अमेरिकीहरुको रुची घटाउँछ । दोस्रो विश्वको लगानी प्रभावित हुन्छ ।  अमेरिकामा ब्याजदर बढेपछि अमेरिकी सरकार र कम्पनीहरुले जारी गर्ने ऋणपत्रप्रति विश्वभरका लगानीकर्ताको आकर्षण बढ्छ । लगानीकर्ताहरुले गरिब र मध्य आय भएका देशमा गरेको लगानी झिकेर अमेरिकामा लगानी गर्न थाल्छन् । यसले अमेरिकी डलरको भाउ बढाउँछ भने अन्य मुद्राको अवमूल्यन उत्पन्न गराउँछ । मुद्राको अवमूल्यनले आयात महसुल बढाउँछ । मुद्राको अवमूल्यन रोक्न विकसशील देशका केन्द्रीय बैंकहरुले उल्टै ब्याजदर बढाउन थाल्छन् । केहीले ब्याजदर बढाउन थालि पनि सकेका छन् । यसले आर्थिक वृद्धिदर सुस्त बनाउँछ, व्यवसायहरुको लगानी क्षमता खस्काउँछ अनि रोजगारी गुम्छ । सरकारले अरु देश वा वित्तीय संस्थाहरुसँग लिएको कर्जाको ब्याज भुक्तानीमा बढी रकम खर्च गर्नु पर्ने अवस्था आउँछ । अमेरिकाले यस अघि सन् १९९० को दशकको मध्यतिर महँगी व्यवस्थापन गरेर आर्थिक मन्दी टार्न नसक्दा मेक्सिको, रुस र एशियाको अधिकांश देशमा शृङ्खलाबद्ध रुपमा आर्थिक मन्दी देखिएको थियो । महँगी नियन्त्रण गर्न फेडले आक्रामक रुपमा ब्याजदर बढाउने सुर कसेको पछिल्लो अवस्था नेपाल, श्रीलंकाजस्ता देशहरुमा ब्याजदर वृद्धिको प्रभाव पोखिएर दबाब नबढ्ला भन्न सकिदैंन ।  नेपालको अवस्था  आयातमा भइरहेको वृद्धिका कारण पछिल्लो समय नेपालका विदेशी विनिमय सञ्चिति घट्दै गइरहेको छ । भुक्तानी सन्तुलन घाटा पनि बढेको छ । विश्व बजारमा इन्धन र कमोडिटिजको भाउ बढ्दा नेपालको आयात महसुल झनै बढेको छ भने आयातित महँगी पनि बढ्दो क्रममा छ । बाँकी विश्वसँगको व्यापारमा नेपालको आयातको अनुपात ९२ दशमलव १४ प्रतिशत रहेको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाएको छ । चालू आव शुरु भएदेखि नै नेपालको आयात महसुल बढ्न थालेको थियो । चालु आवको पहिलो ९ महीनामा आयात महसुल गत वर्षको सोही अवधिमा ३१ दशमलव ९७ प्रतिशतले बढेर १४ खर्ब ६६ अर्बभन्दा माथि उक्लिएको छ ।  यसको असर विदेशी विनिमय सञ्चितीमा देखिएको छ । चालू आव शुरु भएदेखि नै नेपालको विदेशी विनिमय सञ्चिति घट्न थालेको थियो । गत वर्षको मध्य जुलाईमा १३ खर्ब ९९ अर्ब रुपैयाँ रहेको नेपालको विदेशी विनिमय सञ्चिति यस वर्षको मध्य मार्चमा १६ दशमलव ३ प्रतिशतले घटेर ११ खर्ब ७१ अर्ब रुपैयाँमा झरेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । यो ६ दशमलव ७ महीनाको आयात धान्न पर्याप्त हुने बताइएको छ ।  अन्तरराष्ट्रिय बजारमा इन्धनको भाउमा भएको वृद्धिको असर नेपालको आयात महसुलमा स्पष्ट देखिन्छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको पहिलो नौ महीनामा नेपालले कुल १४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आवको सोही अवधिको भन्दा ३१ दशमलव ९७ प्रतिशत धेरै हो । यो वर्ष विश्वमा इन्धनको भाउ ५० प्रतिशतले बढ्ने चेतावनी विश्व बैंकले दिएको छ । कृषिजन्य उपज, धातु समेत गैर–इन्धनको भाउ भने २० प्रतिशतले बढ्ने बताइएको छ । यसलाई बैंकले सन् १९७० यताकै कमोडिटिजको भाउमा देखिएको सबैभन्दा ठूलो झट्काको संज्ञा दिएको छ । यस्तोमा नेपालको आयात महसुल झनै बढ्ने र विनिमय सञ्चिति वृद्धिका प्रभावकारी उपायहरु नअपनाए सञ्चिति सुक्दै जाने सम्भावना  प्रवल छ ।  ब्याजदर वृद्धिले कसरी महँगी नियन्त्रण गर्छ ?  ब्याजदर बढेर महँगी कसरी नियन्त्रण होला भनेर धेरैलाई अचम्म लाग्न सक्छ । प्रमुख ब्याजदर (रिपो दर) वृद्धि महँगी विरुद्धको लडाईको प्रमुख अस्त्र हो । केन्द्रीय बैंकहरुले  वाणिज्य बैंकहरुलाई अल्पकालीन अवधिका लागि दिइने कर्जाको दर बढाउँछन् । यी बैंकहरुले पनि बढेको दरलाई उपभोक्ता र संघसंस्थाहरुको टाउकोमा हालिदिन्छन् ।  ब्याजदर बढाएर केन्द्र बैंकहरुले उपभोक्ता र व्यवसायहरुको खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गरेको हो । प्रमुख ब्याजदर वृद्धिले घर, कार, लगायत अधिकांश कर्जाको ब्याजदर बढाउँछ । अनि ऋण कर्जा झनै महँगो हुन्छ । कर्जा महँगो भएपछि उपभोक्ता  र व्यवसायहरुले माग थाँती राख्छन् । माग सुस्ताउँछ अनि वस्तु तथा सेवाको मूल्य नियन्त्रणमा आउँछ । प्रमुख ब्याजदर बढेपछि बजारमा तरलता पनि घट्छ । एजेन्सीहरुको सहयोगमा

सम्बन्धित सामग्री

अर्थतन्त्रका सिद्धान्तमा उल्टो बाटो हिडिरहेको टर्कीको मुद्रा इतिहासकै कमजोर

काठमाडौं । टर्किश मुद्रा लिरा अहिलेसम्मकै कमजोर बनेको छ । बुधवार प्रति डलर लिराको भाउ ७ प्रतिशतले घटेको छ । उक्त दिन मुद्रा बजारमा डलर लिरा विनिमय दर २३ दशमलव १३ लिरा कायम भएको थियो । लिराको भाउमा देखिएको यो सेलअफ सन् २०२१ को ऐतिहासिक कमीयताकै ठूलो हो । नवनिर्वाचित सरकारले विदेशी विनिमय बजारमा आफ्नो पकड खुकुलो बनाउँदै गर्दा लिराको भाउमा व्यापक उथलपुथल आएको हो । मे २८ मा राष्ट्रपति रेसेप तैय्यप एर्दोआन पुनःनिर्वाचित भएयता नै लिराको भाउ दबाबमा छ । यो वर्ष शुरु भएयता डलरको तुलनामा लिराको भाउ १९ प्रतिशतभन्दा धेरैले घटिसकेको छ । एर्दोआनले सप्ताहन्तमा नयाँ मन्त्रीमन्डलको घोषणा गरेका थिए । उनले पूर्व उपप्रधानमन्त्री मेहमेत सिमसेकलाई अर्थमन्त्री बनाएका थिए । आर्थिक नीतिलाई तार्किक धरातलमा फर्काउनु पर्ने सिमसेकले बताएका थिए । उनको नियुक्तिलाई विदेशी लगानीकर्ताहरुले स्वागत गरेका छन् । लगानीकर्ताहरु अहिले केन्द्रीय बैंकमा नयाँ आउने गभर्नरको पखाईमा छन् । महँगी आकाशिरहेको बेलामा विश्वभर धमाधम ब्याजदर वृद्धि भइरहेको बेलामा एर्दोआनको निर्देशनमा टर्किश केन्द्रीय बैंकका वर्तमान गभर्नर सहाप काभसियोग्लुले आक्रामक रुपमा ब्याजदर घटाएका थिए । यही तालमा लिराको भाउ घटेमा विनिमय दर २५–२८ तिर झर्न  सक्ने केही विश्लेषकहरुले बताएका छन् । सन् २०२१ मा आर्थिक वृद्धिदर बढाउन र लगानीलाई टेवा निद एर्दोआनको आदेशमा केन्द्रीय बैंकले ब्याजदर १९ प्रतिशतबाट घटाएर साढे ८ प्रतिशतमा झारेको थियो । एर्दोआनले ब्याजदरलाई शत्रुको संज्ञा दिएका थिए । तर यो कदमपछि सन् २०२१ को डिसेम्बरमा लिराको भाउ ऐतिहासिक न्यून स्तरमा झर्यो । गएको वर्ष महँगी ८५ प्रतिशतमा उक्लियो । यो २४ वर्षयताकै उच्च थियो । अर्थमन्त्रालय सिमसेकले सम्हालेसँगै टर्की अपरम्परागत आर्थिक तथा मौद्रिक नीतहरुबाट विस्तारै टाढिने संकेत मिलेको छ । महँगी नियन्त्रण गर्न ब्याजदर बढाउनुको सट्टा उल्टै ब्याजदर घटाउने सरकारी नीतिका कारण गएको ५ वर्षमा डलरको तुलनामा लिराको भाउ ८० प्रतिशतभन्दा धेरैले घटेको थियो । समाचारहरुलाई पत्याउने हो भने एर्दोआनले अमेरिकामा वरिष्ट वित्त अधिकारीका रुपमा कार्यरत् हाफिज गाय एर्कानलाई केन्द्रीय बैंकको गभर्नर बनाउँदैछन् । जुन ५ मा एकार्न र सेमसेकबीच आंकारामा भेटघाट समेत भएको थियो । एर्कान ५ वर्षयताका चौथो गभर्नर हुनेछन् । एक वर्षभन्दा बढी समययता विदेशी लगानीकर्ताहरु धमाधम टर्कीको पूँजी बजारबाट पलायन भइरहेका छन् । एर्दोआन विस्तारै परम्परागत नीतितिरै फर्किन सक्ने आशा बढेकै समयमा लगानीकर्ताहरुको बहिगर्मन रोकिने अपेक्षा बढेको छ । एजेन्सी

लगातार चौथो महीना पनि ओरालोमा कच्चा तेलको भाउ

काठमाडौं । विश्व बजारमा कच्चा तेलको भाउ लगातार घटिरहेको छ । फेब्रुअरीमा पनि त्यो क्रम रोकिएको छैन ।  इन्भेस्टिङडटकमका अनुसार गत नाेभेम्बरमा प्रतिब्यारेल ८८ दशमलव ३७ डलर रहेकाे कच्चा तेलको भाउ साे महीनाको अन्त्यमा ८० दशमलव ५६ डलरमा झरेको थियो । त्यसको एक महीनापछि डिसेम्बरको अन्त्यमा कच्चा तेलको मूल्य भने झिनो अंकमा घटेर ८० दशमलव ४७ डलर कायम भएको थियो । जनवरीमा पनि भाउ घट्ने क्रम रोकिएन । जनवरीको अन्त्यमा यसको मूल्य ७८ दशमलव ८७ डलर कायम हुँदा फेब्रुअरीको अन्तिम दिन कच्चा तेलको भाउ प्रतिब्यारेल ७६ दशमलव ९० कायम भएको छ ।   लगानीकर्ता हतोत्साहित हुँदा कच्चा तेलको लगातार भाउ घटिरहेको छ । अमेरिकाले महँगी नियन्त्रण गर्न मौद्रिक नीति कसिलो बनाउँदा लगानीकर्ताहरू चिन्तामा छन् । सबैभन्दा धेरै कच्चा तेल आयातकर्ता चीनले कोभिडका कारण लगाएको सबै प्रतिबन्धहरू खारेज गरेपछि त्यहाँ तेलको माग बढ्ने आशा गरिएको भए पनि अमेरिकामा कच्चा तेलको सञ्चिति बढेको खबरले लगानीकर्ताहरू हतोत्साहित भएका हुन् । यसले गर्दा बजारमा दबाब देखिएको छ ।  मंगलवारको कारोबारमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआइ)को भाउ प्रतिब्यारेल १ प्रतिशतले बढेर ७६ डलर ४६ सेन्टमा पुगेको थियो । आजको कारोबारमा भाउ बढेको भए पनि यो महीनाभर डब्ल्यूटीआई झन्डै ४ प्रतिशतले घट्ने क्रममा छ ।  मंगलवारको कारोबारमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ पनि शून्य दशमलव ६७ प्रतिशतले बढेर प्रतिब्यारेल ८२ डलर ८१ सेन्टमा पुगेको थियो ।  फेडले व्यापक ब्याजदर वृद्धि गर्दा पनि अमेरिकामा महँगी टसको मस नभएको तथ्यांकले ब्याजदर वृद्धि जारी रहने अनुमान बलियो हुँदा कच्चा तेलमाथि दबाब बढेको छ । डलरको भाउमा भएको वृद्धिले पनि डलरमा किनबेच हुने कमोडिटीलाई घाटा भइरहेको छ । अमेरिकामा कच्चा तेलको भन्डार बढिरहेको खबरले पनि तेलको भाउ घटेको छ । अहिले अमेरिकाको कच्चा तेल भन्डारण सन् २०२१ को मेयताकै उचाइमा उक्लिएको छ । चीनले कोभिड विरुद्धको शून्य सहनशीलताको नीति खारेज गर्दै वर्षको अन्त्यतिर सीमा खुलाएको अनि तेलको माग बढ्ने संकेत देखिए पनि यसको भाउ यो वर्ष सुस्ताएको छ । यो वर्षको उत्तरार्द्धमा विश्वव्यापी तेलको माग कीर्तिमानी स्तरमा उक्लिन सक्ने एउटा अनुमान देखाएको छ । यो वर्षको अहिलेसम्म तेलको भाउ रातोमै रहेपछि बैंकहरूले तेलको मूल्य प्रक्षेपण घटाउन थालेका छन् ।

निल्नु कि ओकल्नु बन्दै अमेरिकाको कर्जा सीमा

अमेरिकामा संघीय सरकारको कर्जा तोकिएको सीमासम्म पुगेको छ । यसैले तीव्र राजनीतिक खिचातानी शुरू भएको छ भने विश्वको वित्तीय प्रणाली नै जोखिममा पुग्ने भय बढेको छ । समस्या समाधान गर्न कंग्रेस र राष्ट्रपति कार्यालय ह्वाइट हाउससँग कम्तीमा पनि जुनसम्मको समय छ । डेब्ट सिलिङ शब्द सुन्दा धेरैलाई मितव्ययी र कठोर लाग्न सक्छ । तर, यसले सरकारको खर्चमा सीमा लगाउँदैन । अहिलेको विद्यमान खर्च धान्न सक्ने सरकारको क्षमता मात्रै प्रभावित पार्ने हो । सरकारले कर्जाको सीमा निलम्बन गर्‍यो र सीमा परिवर्तन गर्‍यो भने मात्रै सरकारले ऋण लिन पाउँछ । अहिले अमेरिकाको कर्जा सीमा करीब ३१४ खर्ब येन छ । के हो कर्जा सीमा ? सरकारको आय कर र गैरकर राजस्व हो । यो आयलाई सरकारले सार्वजनिक वस्तु र सेवामा खर्च गर्छ । कहिलेकाँही सरकारको आयभन्दा खर्च धेरै हुन्छ । अर्थात् बजेट घाटा हुन्छ । यस्तोमा सरकारले वित्तीय बजारबाट ऋणपत्र जारी गरेर स्रोतको जोहो गर्छ । घरपरिवारले आफूले थेग्न नसक्ने भन्दा धेरै ऋण लिन सक्दैन । सरकारलाई भने यस्तो विवशता हुँदैन । तर, सरकारले लिने कर्जाको पनि केही सीमा हुन्छ । व्यक्ति वा व्यवसायहरू टाट पल्टिए जसरी सरकार तोकिएको ऋण सीमामा पुगेपछि पनि टाट पल्टिन्नन् । तैपनि सरकारलाई कर्जाबारे चिन्तै हुँदैन भन्नेचाँहि होइन । अमेरिकाले संघीय सरकारको कर्जा सीमा क्षमता सीमित बनाउन सन् १९१७ मा सीमा लगाउन थालेको हो । १९६० यता कर्जा सीमा बढाउने, विस्तार गर्ने वा संशोधन गर्ने काम ७८ पटक भएको छ । तीनओटा हेरफेर त गएको ६ महीनामै भयो । तर, अहिले त्यहाँको कंग्रेसमा नयाँ तनाव उत्पन्न भएको छ । सरकारका लागि समस्या उत्पन्न गराउन विपक्षी दलले कर्जा सीमाको संशोधन नगर्ने प्रवृत्ति बढेको छ । रिपब्लिकनको बाहुल्य रहेको तल्लो सदनले खर्च घटाउन माग राखिरहेको छ । यस मागलाई सम्बोधन गर्न यसपटक सांसदहरूले समयमै उपयुक्त कदम नचाल्ने अनि अमेरिका इतिहासमै पहिलोपटक ‘डिफल्ट’मा जाने अवस्था सृजना हुने हो कि भन्ने चिन्ता बढेको छ । अब अमेरिकाले के गर्छ ? सीमा नै नाघ्ने अवस्था रोक्न अमेरिकी अर्थ मन्त्रालयले केही उपाय अपनाउन सक्छ । विगतमा पनि संघीय सरकारका कर्मचारीको सेवा निवृत्ति र स्वास्थ्य लाभमा खर्च गर्न भनेर राखिएको पैसा खर्च गर्नेलगायत उपाय अपनाइएको थियो । जनवरी १९ को रातमा अर्थमन्त्री जेनेट येलेनले जुन ५ सम्म निजामती सेवा निवृत्त र अपांगता कोषका लागि कर्जा जारी रोक्काको घोषणा गरिसकेकी छन् । हुलाक सेवा निवृत्त स्वास्थ्य लाभ कोषका लागि भुक्तानी पनि रोकिएको छ । कर्जा सीमा बढाइयो वा निलम्बन गरियो भने यी दुवैलाई एक मुष्ठमा भुक्तानी गरिन्छ । कर्जा सीमासम्बन्धी खिचातानीका कारण सन् २०११ मा एसएन्डपी क्रेडिटले अमेरिकाको इतिहासमै पहिलोपटक कर्जा शाख नै घटायो । उक्त वर्ष कर्जा सीमा समाधान नहुँदा अर्थ मन्त्रालयको कर्जा लागत १ अर्ब ३० करोड डलर बढेको छ । अनिश्चिय बढ्दा लगानीकर्ताले उच्चदर मागेका थिए । यो वर्ष पनि कर्जा सीमाको बहसले वित्तीय बजार नै त्रस्त पार्ने भय विश्लेषकहरूको छ । अर्थ मन्त्रालयले विशेष खालका उपायहरू अपनाएर कम्तीमा जुन महिनासम्म कर्जा सीमा नाघ्ने अवस्था टार्न सक्ने येलेनको अनुमान छ । त्यति बेला भने सरकारले आफ्नो खर्चका लागि रकम जुटाउनै नसक्ने अवस्थामा पुग्नेछ । यसबाट आर्थिक विपद् आउने विश्लेषकहरू बताउँछन् । महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर वृद्धि गर्दा अमेरिकाको ऋणभार बढेको छ । अमेरिका ऋणको साँवाब्याज नै तिर्न नसकेर डिफल्टमा नजाला भन्न सकिँदैन । यस्तो भएमा रक्षा खर्चदेखि सेवा निवृत्तहरूले पाउने भत्तालगायत सामाजिक सुरक्षाका खर्च ठप्पै हुनेछ । सेनासहित सबै सरकारी कर्मचारीको तलब भुक्तानी रोकिनेछ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाले लिएको कर्जाको भुक्तानी गर्न सकेन भने अमेरिकाप्रतिको विश्वास सकिनेछ, वित्तीय बजार ध्वस्त हुनेछ । अमेरिकी डलर कमजोर हुनेछ । कर्जाको लागत बढ्नेछ । शुरूमा सरकारको कर्जा लागत बढ्छ अनि बिस्तारै यसको प्रभाव सर्वसाधारणमा देखिनेछ । धितो कर्जाको ब्याजदर, क्रेडिट कार्डको कर्जा र अन्य ऋण सबैको ब्याजदर बढ्नेछ । अहिले नै अमेरिकाको उपभोक्ता मनोबल अर्थतन्त्र अनिश्चित अवस्थामा छ । यो बिन्दुसम्म अवस्था आउनु भनेको अकल्पनीय हुनेछ, उपभोक्ता मनोबल र अर्थतन्त्रमा समेत व्यापक क्षति गराउनेछ । किन बढ्दै छ अमेरिकामा कर्जा सीमाको समस्या ? अमेरिकाले सन् १९१७ मा कर्जा सीमा लागू गरेको थियो । पहिलो विश्वयुद्धको समयमा सरकारलाई पैसा उठाउन सजिलो होस् भनेर यसलाई लागू गरिएको थियो । सिद्धान्ततः कर्जा सीमाले कंग्रेसलाई खर्चमाथि निगरानी गर्ने अवसर दियो । तर, कर्जा सीमाको विषयमा गुटबन्दी बढाएको छ । राजनीतिक धु्रवीकरण बढाएको छ अनि अमेरिकाको कर्जा आकाशिएको छ । १ दशकमा सरकारको ऋण दोब्बर भएको छ । वित्तीय संकट र कोरोना भाइरसको महामारीको समयमा सरकारले व्यापक खर्च गर्दा पनि कर्जा बढेको हो । अर्को कारणचाँहि बजेट घाटा हो । सन् २००१ यता हरेक वर्ष अमेरिकाको बजेट घाटामा गएको छ । अहिले कर्जाको सीमा राजनीतिक मोलमोलाइको मुख्य विषय बनेको छ । सन् २०११ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले ९ खर्बभन्दा धेरै खर्च घटाउने सहमति जनाएपछि कर्जा सीमाको समस्या समाधान भएको थियो । तर, कर्जाको सीमा सोही अनुपातमा बढाइयो । केही रिपब्लिकनहरूले यसपटक पनि खर्च कटौतीमा जोड दिइरहेका छन् । तर, डेमोक्रेटहरूले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेका छन् ।

महँगी नियन्त्रण गर्ने लक्ष्यका साथ अमेरिकामा २८ वर्षयताकै उच्च ब्याजदर वृद्धि

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्ब(फेड)ले बढ्दो महँगी नियन्त्रण गर्नको लागि २८ वर्ष यताकै धेरै अर्थात ०.७५ प्रतिशतले व्याज दर वृद्धि गरेको छ । लामो समयमा यो कदमले महँगी घटाउने भए पनि केही महिनाभित्र भने अर्थतन्त्रमा सुस्तता ल्याउने र बेरोजगारी बढाउने प्रक्षेपण गरिएको छ । यसअघि लिइएका कदमले महँगी नियन्त्रणमा न्युन सफलता हासिल भएको पछिल्लो तथ्याकंले देखाएपछि बुधबार फेडले व्याज दर वृद्धिको घोषणा गरेको हो । अब बैंकबाट ऋण लिँदा महँगो पर्नेछ । अमेरिकी कंग्रेसको मध्यावधि चुनाव नज

अष्ट्रेलियाले १० वर्षमा पहिलो पटक बढायो ब्याजदर, महँगी २० वर्षयताकै उच्च

सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको केन्द्रीय बैंकले एक दशकभन्दा बढी समयमा पहिलो पटक ब्याजदर बढाएको छ । रिजर्ब बैंक अफ अष्ट्रेलिया (आरबीए)ले मंगलबार ब्याजदर बढाएर शून्य दशमलव ३५ प्रतिशतमा पुर्याएको छ । देशभरमा महँगी बढेर २ दशकभन्दा बढी समययताकै उच्च स्तरमा उक्लिएको छ । आकाशिएको महँगी नियन्त्रण गर्न बैंकले ब्याजदर वृद्धिको साहारा लिएको हो ।  यसले घरपरिवारको बजेटमाथि थप दबाब सृजना हुने छ । महँगी अपेक्षा गरिएभन्दा तीव्र दरमा बढेको भएपनि बेरोजगारी दर न्यून रहेको र तलब वृद्धिमा सुधार आएको प्रमाण देखिएको आरबीएका गभर्नर फिलिपि लोवेले बताए । कोरोना भाइरसको महामारीको समयमा अष्ट्रेलियाली अर्थतन्त्रलाई टेवा दिन अपनाइएको असाधारण मौद्रिक नीतिमध्ये केहीबाट हात झिक्ने समय अहिले भएको उनले विज्ञप्तिमा भनेका छन् ।  अष्ट्रेलियाली अर्थतन्त्रको परिदृश्य सकारात्मक रहेको भएपनि आगामी दिनमा थप ब्याजदर वृद्धि हुने संकेत उनले गरेका छन् । अहिले अष्ट्रेलियाले निर्वाचनको तयारी गरिरहेको छ । यसअघि निर्वाचनको अभियान चलेकै समयमा सन् २००७ मा पनि ब्याजदर बढाइएको थियो । अष्ट्रेलियामा महँगी ५ दशमलव १ प्रतिशतमा उक्लिएको छ । यो २१ वर्षयताकै उच्च हो । पछिल्लो समय विश्वभर खाने तेल देखि कच्चा तेलसम्म सबै कुरा महँगिएका छन् । महँगी नियन्त्रण गर्न अमेरिका, बेलायत लगायत अधिकांश ठूला अर्थतन्त्रका केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहेका छन् ।

फेडको ब्याजदर वृद्धिको प्रभाव : आकाशियो एशियाली शेयर बजार

चैत ३, टोकियो । एशियाली शेयर बजारमा बिहीवार हरियाली छाएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले अघिल्लो दिन ब्याजदर बढाएपछि बुधवारको कारोबारमा अमेरिकी शेयर बजारमा हरियाली छाएको थियो । बिहीवार सोको प्रभाव एशिया क्षेत्रका शेयर बजारमा देखिएको हो । बुधवार बजार बन्द हुँदा नाष्डाक करीब ४ प्रतिशतले बढेको थियो । एसएण्डपी५०० चाहीं २ प्रतिशतभन्दा धेरै माथि आएर बन्द भएको थियो । दाउ जोन्समा पनि साढे १ प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको थियो ।  फेड कोभिडका कारण खुकुलो बनाएको मौद्रिक नीति धमाधम कसिलो बनाउने बाटोमा छ ।  उक्त दिन बजार बन्द हुँदा जापानमा निक्केई २२५ परिसूचक ३ दशमलव ४६ प्रतिशतले बढेर २ हप्तायताकै उच्च स्तरमा उक्लिएको थियो । दक्षिण कोरियामा पनि कोस्पी  परिसूचक १ दशमलव ३३ प्रतिशतले बढेको थियो । अष्ट्रेलियामा एएसएक्स २०० १ दशमलव ४ प्रतिशतले बढेको थियो ।  हङकङमा हाङशेङ परिसूचक ७ दशमलव शून्य ४ प्रतिशतमाथि आएर बन्द हुँदा चीनमा साङ्हाई कम्पोजिटमा १ दशमलव ५ प्रतिशतको वृद्धि देखिएको थियो । भारत, सिंगापुर, थाइल्यान्डलगायतका बजार पनि हरियालीमै आएर बन्द भएका थिए ।  अमेरिकामा शेयर बजार बिहिवार पनि बढ्ने शेयर फयूचर्सले देखाएका छन् । फेडले महँगी नियन्त्रण गर्न ब्याजदर आक्रामक रुपमा बढाउने भनेपनि ब्याजदर वृद्धिको प्रभावलाई सहन अर्थतन्त्र पर्याप्त रुपमा मजबूत रहेको फेड अध्यक्षले बताएपछि शेयर बजार सुदृढ रहेको हो ।  रुस र युक्रेन बीच युद्धविरामसम्बन्धी वार्तामा आशा जाग्दा पनि लगानीकर्ताहरु जोखिमयुक्त सम्पत्तिप्रति आकर्षण बढ्दा शेयर बजारले टेवा पाएको हो । लगानीकर्ताका मनोबल सुधार आएको भएपनि डलरको भाउ भने बढ्न सकेको छैन । ब्याजदर वृद्धि विश्लेषकहरुले गरेको अपेक्षा अनुरुप भएकोले पनि डलर बढ्न सकेन । यस वर्ष फेडले ब्याजदर ६ पटकसम्म बढाउने देखिएको छ । कमोडिटिज बजारमा बिहिबार कच्चा तेलको भाउ बढेका छन् । सुनमा पनि वृद्धि देखिएको छ । चाँदि, तामा, प्लाटिनमलगायत कमोडिजिट पनि हरियालीमा छन् ।  एजेन्सी

महँगो ब्याजदरको प्रभाव : १० मध्ये एक क्रेता घर जग्गा बजारबाट बाहिरने अवस्था

माघ २३, काठमाडौं  । बेलायतमा केन्द्रीय बैंकको ब्याजदर बढेर १ दशमलव २५ प्रतिशतसम्म पुग्यो भने पहिलो पटक घरजग्गा किन्न लागेका क्रेताहरुमध्ये एक तिहाईसम्मको खरीद शक्ति घट्ने छ । यस वर्ष बेलायतमा एक पछि अर्को गर्दै ब्याजदर बढ्ने अनुमान गरिएको छ । यस्तो भएमा हरेक १० मध्ये एक जना सम्भावित क्रेता घरजग्गा बजारबाट बाहिर रहनेछन् । यसले घरजग्गाको मूल्यमा पनि दबाब सृजना गर्ने अनुमान विश्लेषकहरुले गर्न थालेका छन् ।  बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ (बीओई) ले गत हप्ता मात्रै ब्याजदर दोब्बर बनाएर शून्य दशमलव ५ प्रतिशतमा पुर्याएको थियो । यस वर्ष बैंकले चार पटक ब्याजदर बढाउने अनुमान गरिएको छ । यो यस वर्षको पहिलो ब्याजदर वृद्धि हो । सन् २०२२ को अन्त्यसम्ममा बीओईको ब्याजदर नै १ दशमलव २५ प्रतिशतमा पुग्ने परामर्शदाता कम्पनी क्यापिटल इकोनोमिक्सको प्रक्षेपण छ । तर महँगो बन्दै गइरहेको कर्जाले धितोमा ऋण लिएर घर किन्नेबारे विचार गरिरहेकाहरुमा प्रतिकूल प्रभाव पार्नेछ । बीओईको ब्याजदर नै १ दशमलव २५ प्रतिशतमा पुग्यो भने यस अघि कर्जा लिन सकेका झन्डै ६० हजार क्रेता ‘उधारो दबाब परीक्षण’मै असफल हुने अनुमान क्यापिटल इकोनोमिक्सले गरेको छ ।  सन् २०२० मा बैंक कर्जा प्रयोग गरेर घर किन्नेको संख्या बेलायतमा ६ लाख  १४ हजार रहेको यूके फाइनान्सले बताएको छ । यस वर्ष पनि यस्तै प्रवृत्ति दोहोरियो भने हरेक १० मध्ये एउटा खरिदारी पूरा हुनेछैन । बढ्दै गइरहेको ब्याजदर त घर जग्गाका लागि समस्याकारी छ नै । यस माथि क्रेताहरुमाथि लाँदिएको कठोर खालको ‘सामथ्र्य परीक्षणहरु’ले पनि विक्री सीमित बनाउने र घरजग्गाको मूल्य घटाउने साभिल्सका इस्टेट एजेन्ट लुसियान कूक बताउँछन् ।  बैंकको ब्याजदर बढेर १ दशमलव २५ प्रतिशतमा पुग्यो भने यसले घर जग्गामा पहुँच हुन सक्ने क्रेताको संख्या प्रभावित बनाउँनेछ र मानिसहरुको क्रय क्षमता पनि सीमित बनाउन सक्ने उनको भनाइ छ । यसले आगामी वर्षमा घरजग्गाको मूल्यमा नाटकीय प्रभाव सृजना गर्न सक्ने अर्थशास्त्रीहरुले बताएका छन् । घरजग्गा बजारमा निकै ठूलो मन्दी आउन सक्ने प्रक्षेपणमा विश्लेषकहरु एकमत देखिएका छन् । तर बेलायती बैंकिङ ब्रान्ड हालिफ्याक्सले भने सन् २०२२ मा घर जग्गाको मूल्य १ प्रतिशतले मात्रै बढ्न सक्ने अनुमान गरेको छ । सन् २०२१ सम्मको १२ महीनामा घरको मूल्य १० प्रतिशतले बढेको बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय ‘एनबीएस’को तथ्यांकले देखाएको छ ।  कर्जाको पुनः भुक्तानी गर्ने सामथ्र्य ऋणीहरुमा छ भनेर सुनिश्चित गर्नका लागि कर्जादाताहरुले ‘दबाब परीक्षण’ गर्छन् । यसमा धितोमा लिइएको कर्जाको पुनः भुक्तानी दर बैंकको चलेको ब्याजदर भन्दा तीन प्रतिशत माथि राखिन्छ । महँगी नियन्त्रण गर्न केन्द्र बैंकले अचानक ब्याजदर बढायो भने पनि ऋणीहरुले आफूले लिएको ऋणको ब्याज भुक्तानी गर्न सक्छन् भन्ने सुनिश्चित गर्न यसो गरिएको हुन्छ । नोभेम्बरमा स्ट्यान्डर्ड भ्यारिएबल रेट (एसभीआर) ३ दशमलव ६ प्रतिशत थियो । यस्तोमा बैंकहरुले ‘दबाब परीक्षण’मा कर्जाको पुनः भुक्तानी दर ६ दशमलव ६ प्रतिशत कायम गरेका थिए । अर्थात् त्यति बेला ब्याजदर ६ दशमलव ६ प्रतिशत पुग्दा समेत कर्जाको पुनः भुक्तानी गर्न सक्ने सामथ्र्य भएका क्रेतालाई मात्रै ऋण पाए । ऋणीहरुले पाउने कर्जा उनीहरुको वार्षिक तलबको पाँच गुणामा सीमित गर्न पनि यसो गरिएको थियो । यो डिसेम्बरमा बीओईले ब्याजदर बढाउनु अघिको कुरा हो ।  तर बीओईको ब्याजदर नै बढेर १ दशमलव २५ प्रतिशतमा पुग्यो भने एसभीआर  ४ दशमलव ७५ प्रतिशतमा पुग्ने क्यापिटल इकोनोमिक्सको विश्लेषणले देखाएको छ । यसको अर्थ सम्भावित घरधनीहरुको दबाब परीक्षण धितोको ७ दशमलव ७५ प्रतिशतसम्म  ब्याजदरमा पुग्नेछ । उनीहरुको तलब अनुरुप पाउने कर्जा घटेर वार्षिक तलबको ४ दशमलव ५ गुणमा झर्नेछ । यसको अर्थ हरेक १० मध्ये  एक जना अर्थात् १० प्रतिशत भावी क्रेताले कर्जा पाउने छैनन् । दबाब परीक्षण कम गर्नेबारे आफूले परामर्श शुरु गर्न लागेको बीओईले बताएको छ ।  तर परामर्शको निस्कर्ष के निस्किन्छ र यो कति छिटै हुुन्छ भन्ने स्पष्ट छैन । उनीहरु सतर्क हुने अनि ऋणीहरुले थेग्नै नसक्ने ऋणको भारी नलिउन् भन्ने सुनिश्चित गरिने कूकले बताएका छन् । घरजग्गा बजार पछिल्लो समय उत्पन्न आर्थिक झट्काहरु सुरक्षित हुनुमा धितोमा दिइने ऋणसम्बन्धी नियम भएकोमा कूकले जोड दिएका छन् । नियमहरु परिवर्तन नै भएपनि कर्जादाताहरुले यसलाई सुरक्षित तवरले चलाउने र मौलिक नियममा अडिग हुने छन् । बीओईको दर स्थीर नभएरसम्म कर्जादाताहरु पनि नियम परिवर्तन गर्न हिच्किचाउनेछन् । ब्याजदर झनै तीव्रताका साथ माथि गयो, दबाब परीक्षणप्रति उदारता देखाउन बीओई पनि बढी इच्छुक हुन सक्ने कूकले बताएका छन् । -एजेन्सीको सहयोगमा