असार ५, लन्डन (बेलायत) । बेलायतमा अप्रिलदेखि मे महीनाको बीचमा खुद्रा विक्री घटेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाइएको लकडाउन बीच बन्द भएका बार र रेष्टुराँहरु पुनः खुलेसँगै खानपिनका लागि त्यतै जानेको संख्या बढ्दा खुद्रा विक्री प्रभावित भएको हो ।
त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा खुद्रा विक्री १ दशमलव ४ प्रतिशतले घटेको छ ।
विक्री धेरैजसो खाद्य स्टोरमा घटेको ओएनएसको भनाइ छ ।
गैर खाद्य पसलमा भने विक्री माग बढेको छ । मानिसहरु आफैं बजार गएर किनमेल गर्ने क्रम बढ्दा अनलाइन विक्रीमा पनि कमी आएको छ । समीक्षा अवधिमा अनलाइन विक्री लगातार तेस्रो महीना घटेको भएपनि यो सन् २०२० को फेब्रुअरीमा महामारी शुरु हुनु पूर्वको भन्दा करीब ६० प्रतिशत उच्च भएको बताइएको छ । एजेन्सी