काठमाडौैं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८८ दशमलव ३२ प्रतिशत घटेको छ ।
कम्पनीले गत आवमा रू. ११ करोड ८३ लाख नाफा कमाएकोमा चालू आवमा रू. १ करोड ३८ लाखमा झरेको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ६९ प्रतिशत रहेकोमा चालू आवमा बढेृर १४ दशमलव ०४ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा २४ दशमलव १९ प्रतिशत घटेको हो । गत आवमा कम्पनीले रू. २५ करोड ४७ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर रू.१९ करोड ३० लाखमा सिमित भएको छ ।
नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ७३ पैसा रहेकोमा चालू आवमा घटेर ३ रुपैयाँ ७० पैसामा झरेको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात २२१ दशमलव ०६ गुणा,तरलता अनुपात ९ दशमलव ३६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ११ रहेको छ ।
चुक्ता पूँजी रू. ४९ करोड ७४ लाख रहेको कम्पनीले जगेडामा रू. १६ करोड ७४ लाख र रिटेन्ड अर्निङमा रू. १ करोड २१ लाख सञ्चिती गरेको छ । कम्पनीले रू. २ अर्ब ७२ करोड सापटि लिएर,रू. १ अर्ब ४० करोड निक्षेप संकलन गरेर रू. ४ अर्ब ७१ करोड भन्दा बढी कर्जा लगानी गरेको छ ।